आर्थिक हैसियत भएकाको मात्रै उच्च शिक्षामा पहुँच हुनुहुँदैन : प्रधानमन्त्री 

सोमबार, पुस ५, २०७८
मयुर प्लाई


काठमाडौँ, ५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यतामा सरकार दृढ रहेको बताएका छन् । 
त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र तथा समाजका लागि उपयोग गर्नसक्ने वातावरण निर्माण गर्नु मुलुकको राष्ट्रिय दायित्व रहेको स्पष्ट पारे । प्रधानमन्त्री देउवाले विश्वविद्यालयको शिक्षा केवल औपचारिक तथा सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी र समाज विकास एवं रुपान्तरणमा सहयोगी बन्नुपर्नेमा जोड दिए । 
“मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न सिर्जनात्मक, नवप्रवर्तनशील र युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्ति हुनुपर्दछ”, प्रधानमन्त्री देउवाले भने, “आजको विश्व शैक्षिक बजारमा युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ ।”
उनले शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्ने धारणा व्यक्त गरे । विश्वविद्यालयलको नेतृत्वले भौतिक, शैक्षिक सुधार तथा विद्यार्थी कल्याण सम्बन्धिका कार्यका साथै स्तरोन्नतिका प्रयासलाई निरन्तरता दिन सुझाव दिए । 
उनले दीक्षित भएर गएका दिक्षार्थीको अनुहारमा नेपालको सुन्दर मुहारको प्रतिविम्ब देखिरहेको समेत बताए । विश्वविद्यालयबाट ग्रहण गरेको ज्ञान र सीप उत्पादनशील कार्यमा लाग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भने, “भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईहरुको सोच, अठोट र कर्ममा निर्भर छ ।”
समारोहमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोलीका निर्देशक प्रा डा भी रामगोपाल रावलले आजका सन्दर्भमा उत्पादन, व्यावसायिक तथा रोजगारीमुखी शिक्षाको आवश्यकता औँल्याए । 
आजको विश्व बजारमा एउटा सानो क्षेत्रका गतिविधिले समेत विश्वलाई प्रभाव पार्ने उल्लेख गर्दै उनले नयाँ प्रविधि र सञ्चालनको विकासको अपरिहार्यता रहेको बताए । 
विश्वविद्यालयका शैक्षिक कार्यक्रम विश्वव्यापीरुपमा परिवर्तन भइरहेका सन्दर्भमा समय सापेक्षरुपमा आफूलाई पनि बदल्नुपर्ने उनको सुझाव थियो । 
मुलुकका ७७ मध्ये ७६ जिल्लामा एक हजार १२० क्याम्पस रहेका छन् । विश्वविद्यालयबाट विसं २०७७ असार १ देखि २०७८ जेठ ३२ सम्म ट्रान्सक्रिप्ट लिई ५९औँ ग्रेस लिष्टमा समावेश भएका विद्यावारिधि, डिएम÷एमसिएच, दर्शनशास्त्री, स्नातकोत्तर र स्नातक तहका गरी कूल २९ हजार ७२९ विद्यार्थी÷शोधार्थी आज दीक्षित भएका समारोहमा जानकारी गराइएको थियो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले सङ्घीय संरचनाअनुरुप विज्ञले तयार पारेका विश्वविद्यालयका पुनःनिर्माणका काम नहुनु, विसं २०६७ अघि स्थायी सेवामा समाहित शिक्षक, कर्मचारीका सेवा निवृत्तिभरणको दायित्व नेपाल सरकारले नलिनु, उच्च शिक्षा तथा अनुसन्धानतर्फ न्यून बजेट हुनुले योजनाबद्ध तरिकाले काम अघि बढाउँदा पनि विश्वविद्यालयसामु थुप्रै चुनौतीका चाङ लागेको जानकारी दिए ।

नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित भयो की :  शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो की भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताएका छन् । 

त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षा मन्त्री पौडेलले विश्व परिवेशमा विकसित ज्ञानलाई  मुलुकमा भित्र्याएर देश विकासमा लगाउनुपर्नेमा हामीसँग भएका दक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता रहेकोप्रति चिन्ता प्रकट गरे । 
त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा मन्त्री पौडेलले भने, “कतै हाम्रा विश्वविद्यालयका शैक्षिक कार्यक्रम, विषयवस्तु हाम्रो जीवनका आवश्यकतासँग मेल खाने हुन सकेनन् की ? वा सिकेको ज्ञान सीपलाई हामीले प्रमाणपत्रमा मात्रै सीमित राखी व्यवहारमा अनुवाद गर्न सकेनौं, सोच्नुपर्ने बेला आएको छ ।” उनले दीक्षित विद्यार्थीलाई सिकेका सीपलाई व्यक्तिगत र सामाजिक जीवनमा सुधार गर्ने गरी प्रयोग गर्न समेत सुझाव दिए ।
उनले सिकेका ज्ञानलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यवहारिक तथा जीवनोपयोगी बनाउनु जरुरी रहेको औँल्याए । 
सिकेका सीपलाई राष्ट्र विकासको एक सुत्रमा बाँधेरै एकीकृत गर्न सक्नुपर्नेमा उनको जोड थियो । मन्त्री पौडेलले सांस्कृतिक, भौगोलिक र प्राकृतिक रुपमा विविधतायुक्त तथा समृद्ध भएर पनि उपलब्ध स्रोतसाधनको बुद्धिमत्तापूर्ण उपयोग गर्न नसक्दा नेपाल विकासको गतिमा अपेक्षित रुपमा अघि बढ्न नसकेको प्रष्ट्याए । 
उनले देश बन्दैन र देश बन्छ भन्ने जस्ता प्रश्नको उत्तर दिन तथा बेरोजगार र गरिबी कम गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरे । अनुसन्धानमुखी संस्थालाई अझै प्रभावकारी बनाउन सुभाव दिँदै शिक्षामन्त्री पौलेलले नेपाली विशेषताअनुसार विश्व बजारमा बिक्ने शिक्षा त्रिभुवन विश्वविद्यालयले दिनुपर्नेमा जोड दिए । 
उनले शिक्षालाई सीपसँग र सीपलाई उत्पादन तथा रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । मन्त्री पौडेलले शिक्षाको नाममा विदेशिने गरेको ठूलो धनराशि रोक्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १९:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार