सोसल मिडिया
Contact Us
युनिकोड
काठमार्डाैं, ६ पुस । संसद्मा प्रतिनिधित्व गर्ने दुई ठूला राजनीतिक दलमा महाधिवेशनमार्फत् नेतृत्व चयनको विषय सेलाउन नपाउँदै आगामी साता तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु लागेको छ । नेपाली कांग्रेस पदाधिकारीमा युवा नेताहरूको उल्लेख्य उपस्थिति देखिए माओवादीमा भने पुरानै नेताहरू दोहोरिने आकलन गर्दै कतिपयले सामाजिक सञ्जालमा चर्चा गरेका छन् । पार्टीको रणनीति र नेतृत्वबारे निर्णय लिने राष्ट्रिय सम्मेलनबाट नेकपा एमाले र नेपाली कांग्रेसमा जस्तै माओवादीमा पनि पुरानै पार्टी प्रमुख दोहोरिने निश्चितजस्तै रहेको माओवादी नेता र जानकारहरूको भनाइ छ । माओवादी वृत्तमा पार्टीको अध्यक्षभन्दा पनि त्यसपछि शक्तिशाली मानिने महासचिव पदमा को आउँछ भन्ने विषयमा धेरैको चासो छ । पुस ११ गतेदेखि १५ सम्म काठमाडौंको प्रज्ञाभवनमा १,५०० प्रतिनिधिको उपस्थितिमा हुने राष्ट्रिय सम्मेलनले यसअघि जस्तै अध्यक्ष मात्रै चयन गरेर बाँकी पदाधिकारी चयन थाती राख्न सक्ने आशङ्का पनि कतिपयले गरेका छन् । माओवादीको अघिल्लो राष्ट्रिय सम्मेलनमा पनि सहमति हुन नसकेपछि पदाधिकारी पछि चयन गरिएको थियो ।
के माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्न सक्ने छैनन् ? तीन दशकदेखि पार्टी अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डको विकल्प आगामी सम्मेलनमा पनि नदेखिएको माओवादी नेता राम कार्की बताउँछन् । 'त्यो पार्टी अध्यक्ष फेरिने स्थिति देख्दिनँ। त्यो हुनुपर्थ्यो, भएन । कांग्रेसमा पनि त्यो देखिएन, एमालेमा पनि देखिएन', सम्मेलनबाट नेतृत्व परिवर्तनको सम्भावनाबारे सोधिएको प्रश्नमा कार्कीले भने । माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्न सक्ने वैचारिक नेता समेत नदेखिएको कार्कीको दाबी छ । विगत १५-२० वर्षदेखि नेपालको राजनीति विचारबाट निर्देशित भएर अघि नबढेको भन्दै उनले प्रमुख पार्टीहरूमा नेतृत्वलाई चुनौती दिन सक्ने नेता नजन्मिएको बताए । 'नेता भनेको कहिले पनि अंश दिएर हुने होइन। त्यसरी त शिष्य मात्रै हुन्छन्, नेता हुनलाई त वैचारिक बहससहित आउनुपर्छ। विचारधारात्मक छलफल जहाँ हुन्छ त्यहाँ नेता आउँछन्', कार्कीले भने । यसअघि विसं २०७१ सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा माओवादी नेतृत्वको दाबी अघि सारेका बाबुराम भट्टराई पार्टीबाटै अलग भए । दशवर्षे भूमिगत राजनीतिबाट शान्ति प्रक्रियामा आएको माओवादीमा प्रचण्डसँग वैचारिक मतभिन्नता राख्ने अधिकांश नेताहरू अलग भइसकेका छन् । दाहालका अर्का सहयात्री मोहन वैद्यले पार्टीमा लामो अन्तरविरोध पछि एक दशकअघि अलग पार्टी गठन गरे । वैद्यसँगै बाहिरिएका माओवादीका तत्कालीन महासचिव रामबहादुर थापा पुनः प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए पनि उनी अहिले माओवादी छोडेर एमालेमा आबद्ध भएका छन् । माओवादीले गरेको युद्धका बेला प्रचण्डसँग निकट भए पनि शान्ति प्रक्रियामा आएपछि असहमति राख्दै आएका अर्का नेता नेत्रविक्रम चन्द अहिले छुट्टै पार्टीको प्रमुख छन् ।
किन हुन सकेन माओवादीमा जिम्मेवारी हस्तान्तरण ? प्रचण्डका समकक्षी नेताहरू माओवादीबाट बाहिरिँदा माओवादीमा प्रचण्डपछिको नेतृत्वका उत्तराधिकारी बन्न नसकेको बताइन्छ । महाभारतको एउटा प्रसङ्गको उदाहरण दिँदै माओवादी नेता कार्की नेतृत्वले पनि पार्टीको जिम्मेवारी हस्तान्तरणको नीति नलिएको बताएका छन् । 'महाभारतमा पनि भीष्मलाई ढालेपछि नै अर्जुन सर्वश्रेष्ठ रूपमा अगाडि आए । हुन त आफू ढल्ने तरिका उनले (भीष्मले) स्वयम् अर्जुनलाई बताएका थिए', कार्की भन्छन् । यसअघि हेटौँडामा भएको महाधिवेशनमा प्रचण्डको उत्तराधिकारी चयन गर्ने चर्चा भए पनि प्रचण्डपछि दोस्रो तहका नेताहरूले उत्तराधिकारीमा एक अर्कालाई स्वीकार नगरेका कारण त्यो योजनाबाट माओवादी पछि हटेको थियो ।
नेतृत्व कस्तो बन्ला ? सम्मेलनमा पार्टीको विचार, कार्यदिशा र सङ्गठनात्मक संरचनाबारे बहस हुने बताइएको छ । माओवादीमा लामो समयदेखि पदाधिकारीमा जिम्मेवारी विभाजन गरेर सामूहिक नेतृत्व गर्ने प्रणाली अवलम्बन गर्ने विषयमा बहस हुँदै आएको छ । माओवादीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था भए पनि अध्यक्षबाहेक अरू सबै पद रिक्त छन् । माओवादी नेतृत्व बहुपदीय हुने भनिए पनि त्यो कस्तो हुने टुङ्गो लाग्न नसकेको नेताहरूले बताएका छन् । माओवादी नेताहरूका अनुसार पार्टीमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको पद थप गर्नेबारे छलफल चलिरहेको छ । माओवादीले प्रदेश र स्थानीय तहमा सातजना पदाधिकारी रहने व्यवस्था पारित गरेको छ । केन्द्रमा पनि विगतको भन्दा पदाधिकारी सङ्ख्या थप गर्नेबारे छलफल भइरहे पनि त्यसको टुङ्गो राष्ट्रिय सम्मेलनको बन्द सत्रबाट मात्रै टुङ्गो लाग्ने माओवादी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।
आकाङ्क्षी को छन् ? माओवादी केन्द्रमा अहिलेसम्म चार जनालाई प्रचण्डपछि शक्तिशाली मानिने भावी महासचिव पदको उम्मेदवारको रूपमा हेरिएको माओवादीभित्र अन्तरसङ्घर्ष पुस्तकका लेखक तथा पत्रकार नेत्र पन्थीको बुझाइ छ । उनले पूर्वमहासचिव कृष्णबहादुर महरा, सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा, पूर्वसचिव वर्षमान पुन र पम्फा भुसाल माओवादी महासचिवको दाबेदार भएको बताए । 'प्रचण्डका समकक्षी नेताहरू अहिले माओवादीमा कोही पनि छैनन् । त्यस कारण तुरुन्तै नेतृत्व परिवर्तन हुने कुनै छाँट छैन', पन्थी भन्छन् । महरा यसअघि विवादमा आएका कारण उनलाई उपाध्यक्ष बनाएर बाँकी तीन नेतामध्येबाट महासचिव चयन गर्ने प्रचण्डको तयारी हुनसक्ने पन्थीको विश्लेषण छ । तीन आकाङ्क्षीमध्ये वर्षमान पुन स्वास्थ्य समस्याका कारण उपचाररत रहेका कारण अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री भुसालको दाबेदारी बलियो रहेको उनको बुझाइ छ । प्रचण्डसँग कतिपय विषयमा असहमति राख्दै आएका अर्का नेता नारायणकाजी श्रेष्ठलाई दाहालले कार्यकारी भूमिकामा साथ दिने सम्भावना कम रहेको लेखक पन्थी बताउँछन् । माओवादीमा चुनावी प्रक्रियाबाट नेतृत्व चयनको अभ्यास नभएका कारण सहमतिबाटै नेतृत्व चयनको पहल गर्ने नेताहरूको तयारी छ । माओवादीले बागमती प्रदेशको अध्यक्ष टुङ्गो लगाउन मतदान गरे पनि बाँकी प्रदेशमा सहमतिबाटै नेतृत्व चयन गरेको छ। सहमति हुन नसक्दा अधिकांश प्रदेशमा अध्यक्ष र सदस्यहरू मात्रै टुङ्गो लगाएर बाँकी पदाधिकारीको चयन थाती राखिएको छ । केन्द्रमा पनि त्यही अभ्यास दोहोरिन सक्ने सम्भावना भएको आकलन छ । 'प्रचण्डले अरू पार्टीलाई देखाउन केन्द्रीय समितिमा युवाहरू ल्याउने सम्भावना छ। तर युवाहरू नै पदाधिकारीमा जाने सम्भावना अहिले माओवादीभित्र देखिँदैन', उनले भने ।
महाधिवेशन र राष्ट्रिय सम्मेलनमा के फरक ? माओवादीको महाधिवेशन र राष्ट्रिय सम्मेलनमा ठूलो भिन्नता नभएको पार्टी कार्यालयका मुख्य सचिव ढकाल बताउँछन् । महाधिवेशनमा अन्य दलका नेता र विदेशस्थित राजनीतिक दलका प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिने भए पनि राष्ट्रिय सम्मेलन पार्टीका प्रतिनिधिहरूमाझ मात्रै गरिने ढकालले बताए । पार्टीको नीति, नेतृत्व र वैचारिक कार्यदिशा चयनको अधिकार राष्ट्रिय सम्मेलन र महाधिवेशन दुवैमा समान भएको उनले जानकारी दिए । यसअघि विसं २०७१ मा विराटनगरमा भएको राष्ट्रिय सम्मेलन नेतृत्व चयन गर्न असफल भएपछि पार्टी कार्यालय पेरिसडाँडामै फर्केर माओवादीले नेतृत्व चयन गरेको थियो । पेरिसडाँडामा मतदानबाट नेतृत्व चयन भए पनि मतदाता केन्द्रीय सदस्यहरू मात्र थिए । बाबुराम भट्टराई उम्मेदवारी दर्तामै सहभागी नभए पनि उनलाई पार्टीमा निर्वाचित गराइएको थियो । त्यसअघि माओवादीले २०६९ सालमा हेटौँडामा महाधिवेशन गरेको थियो । शान्ति प्रक्रियामा आएपछि भएको पहिलो महाधिवेशनबाट प्रचण्ड अध्यक्षमा पुनः निर्वाचित भएका थिए ।-बीबीसी