सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, ७ पुस । जनभावना क्याम्पसले विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र पाएको दुई वर्ष पार गरी तेस्रो वर्ष प्रवेश गरेको छ । क्युएए प्रमाणपत्र प्राप्त गरेपछिको उपलब्धिलाई सार्वजनिक गर्न बुधबार जनभावना क्याम्पसले एक औपचारिक कार्यक्रम आयोजना गरेको छ । ललितपुरको चापागाँउस्थित जनभावना क्याम्पसले २०७६ पुस ७ गते क्यूएए प्रमाणपत्र पाएको हो । जननभावना क्याम्सका सञ्चालक समितिका सदस्य, फ्याकल्टी मेम्बर तथा विद्यार्थीलाई साक्षी राखेर क्याम्पस प्रमुख शिवराज सञ्जलेले अब जनभावना स्वायत शैक्षिक कार्यक्रमतर्फ उन्मुख हुने घोषणा गरे । क्यूएए प्राप्त गरेको तेस्रो वर्ष प्रवेशको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सञ्जेलले आफूहरु पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन लगायतका कार्यक्रममा क्रियाशील भएको जानकारी दिए । ‘हामी शैक्षिक बजारको आवश्यकता अनुसारका पाठ्यक्रम निर्माण गर्न क्रियाशील छौं’, उनले भने, ‘स्वयत्त कार्यक्रमले विश्वविद्यालय निर्माणको आधार स्तम्भ तयार गर्न पनि सहयोग पुग्ने छ ।’ सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले आफूहरुले विश्व विद्यालय अनुदान आयोगले तय गरेका आठवटा मापदण्ड पूरा गरेकाले उपत्यकाकै पहिलो क्यूएए प्रमाणपत्र प्राप्त क्याम्पस बनाउन सफल भएको स्मरण गरे । अर्का क्याम्पस प्रमुख निर्मल न्यौपानेले आफूहरुले अब्बल शिक्षा प्रदान गर्न सफल भएकाले क्यूएए प्रमाणपत्र प्राप्त गरेको जिकिर गर्दै यो अवस्थालाई टिकाइ राख्नु चुनौतीप हुने स्मरण गराए । सञ्चालक समितिका सदस्य डिल्ली घिमिरेले सो क्याम्पसका शिक्षकको मिहिनेतकै कारण क्याम्पसले क्यूएए मान्यता प्राप्त गर्न सक्ने आधार बनेको धारणा राखे । अर्का सदस्य रामहरी घिमिरेले सो क्याम्पसले गुणस्तरीय शिक्षाका लागि लिएका योजना अघि बढाउन सञ्चालक समिति सधै तयार रहेको बताए । कार्यक्रममा दिइएको जानकारी अनुसार मुलुकभर १ हजार चार सय २५ शैक्षिक संस्था रहेका मध्ये ५३ वटा शैक्षिक संस्थाले मात्रै क्युएए मान्यता प्राप्त गरेका छन् । जनभावनाले ३८ आँै नम्वरमा उक्त प्रमाणपत्र पाएको हो । क्याम्पसले गोदावरी वडा नं १० र ११ मा अवस्थित कूल २८ रोपनी सार्वजनिक जग्गा प्राप्तिको चरणमा छ । जग्गा प्राप्तिलगत्तै क्याम्पसले सुविधा सम्पन्न भवन बनाउने योजना अघि बढाएको छ । जनभावनामा के–के विषय पठनपाठन हुन्छ ? जनभावना क्याम्पसले अहिले व्यवस्थापनतर्फ स्नातकोत्तरमा एमबीएस, स्नातक तहमा बीबीएस, मानविकी संकायतर्फ स्नातक तहमा बीए, बीएएसडब्लु, शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रम सञ्चालित छन् । यस्तै मानविकी संकायतर्फ प्राविधिक धारको बीसीए कार्यक्रम सञ्चालित छ भने शिक्षा शास्त्र संकायतर्फ बीआईसीटीई कार्यक्रम सञ्चालन गर्ने अन्तिम तयारीमा क्याम्पस छ । यस्तै माध्यामिक तह कक्षा ११ र १२ मा मानविकी, व्यवस्थापन तथा कानुन विषयमा पठन पाठन भइरहेको छ । हाल क्याम्पसमा सबै तह र विषयमा गरी एक हजार जना विद्यार्थी अध्ययनरत छन् । कस्तो छ भौतिक पूर्वाधार ? जिल्ला सदरमुकाम लगनखेलबाट करिब ७ किलोमिटर दक्षिणमा अवस्थित जनभावना क्याम्पसका दुईवटा ठूला भवन छन् । क्याम्पसमा सेमिनार हल, ओटेमेटेड ओपन एक्सेस लाइब्रेरी, व्यवस्थित इएमआइएस, डिजिटल जुम स्टुडियो, कम्प्युटर ल्याब, बेसिक अनलाईन ल्याब, रेडियो स्टुडियो, प्रोजेक्टर र स्मार्टबोर्डसहितका डिजिटल कक्षाकोठा छन् । जनभावना क्याम्पसमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिन क्याम्पसकै स्वामत्विमा रहने गरी न्युज पोर्टल (www.jbckhabar.com) को डोमेन दर्ता भइ सञ्चालनको अन्तिम तयारीमा छ । यो पोर्टलमार्फत जनभावना रेडियो, जनभावना टिभी, समाचार र समाचारमूलक सामग्रीका साथै जनभावना क्याम्पसको जर्नल, अनुसन्धानमूलक लेख, शिक्षाविद्का बिचारलगायतका सबै सामग्री एकैठाउँ, पढ्न, सुन्न र हेर्न सकिने छ । भविष्याका योजना गोदावरी नगरपालिका वडा नं १०–११ वडा न्यौपाने गाउँमा नगरपालिकाले उपलव्ध गराएको २८ रोपनी जग्गामा सुविधा सम्पन्न भवन निर्माण गरी पठन पाठन गर्ने योजना बनाएको छ । क्युएए के हो ? विश्व विद्यालय अनुदान आयोगले देशभरका शैक्षिक संस्थाहरुलाई उनीहरुको शैक्षिक उपलब्धिलाई आधार मानेर संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०६६–०६७ बाट सुरु भएको यो कार्यक्रममा हालसम्म नेपालका ५३ शैक्षिक संस्थाहरुले प्रमाणपत्र पाइसकेका छन् । अनुदान आयोगले सरकारी, सामुदायिक तथा निजी क्याम्पसहरूको गुणस्तर मापन गर्दै क्युएए प्रदान गर्दै आएको छ । क्युएए प्रक्रियामा जान चाहने उच्च शैक्षिक संस्थाहरूको ८ आधारमा मूल्यांकन गरी प्रमाण–पत्र प्राप्तिका लागि सिफारिस गर्छ । नीति नियम, पाठ्यक्रम सम्बन्धी पक्ष, पढाई सिकाई र मूल्यांकन प्रणाली, अनुसन्धान, परामर्श, भौतिक पूर्वाधार र सिकाईका स्रोत, विद्यार्र्थी हित र दिशानिर्देश, सूचना प्रणाली, सार्वजनिक सूचना वितरण प्रणालीलाई मूल्यांकनका आधार आयोगले बनाएको छ । क्यूएए प्रमाणित विश्वविद्यालय र कलेजमा अध्ययन गरेका विद्यार्थीले मात्र विदेशी कलेजमा स्वतः समकक्षताको मान्यता पाउने नियम छ । यही नियमका कारण सरकारले नेपालका सबै कलेजलाई क्युएए प्रक्रियामा आउन अनुरोध गर्न थालेको छ । गुणस्तर सुनिश्चितता प्रमाणपत्र लिएका नेपाली कलेज वा विश्वविद्यालयको प्रमाणपत्रलाई मान्यता दिने क्रम सुरु भइसकेको छ ।