जिल्ला अस्पतालले पाएन कोराना संक्रमित उपचारबापतकाे खर्च

बिहीबार, पुस ८, २०७८

लमजुङ, ८ पुस । जिल्ला अस्पताल लमजुङले कोरोना संक्रमितको उपचारमा गरेकाे खर्च अझै नपाएको जनाएकाे छ । अस्पतालले सुरूदेखि चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म कोरोना संक्रमितको उपचार खर्चबापत एक करोडभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको जनाएको छ । कोरोना संक्रमण देखिएदेखि चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात कार्तिक मसान्तसम्म पाँच सय ६ जना संक्रमितको नि:शुल्क उपचार गरेको अस्पतालले जनाएको छ । संक्रमितको उपचार सरकारले गर्ने भने पनि सो बापतको रकम अहिलेसम्म भुक्तानी नभएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । जिल्ला अस्पतालमा गत आर्थिक वर्षमै ४४१ जना संक्रमितको उपचार भएको थियो । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा थप ६५ जनाको उपचार भएको अस्पतालले जनाएको छ । दुवै चरणमा उपचार गराएका संक्रमितहरूको कुल रकम एक करोड ३३ लाख २१ हजार रुपैयाँ पुगेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार पहिलो चरणमा दुई सय ६२ जना कोरोना संक्रमितको उपचार गर्दा ७३ लाख ६४ हजार रुपैयाँ लागेको थियो भने दोस्राे  चरणमा हालसम्म एक सय ७९ जनाको उपचार गर्दा ४६ लाख १३ हजार भएको थियो । पछिल्लो चौमासिकमा १३ लाख ४४ हजार रुपैयाँ भएको अस्पतालले जनाएको छ । कोभिड संक्रमितको उपचार खर्च सरकारले उपलब्ध गराउने सम्झौता भए पनि हालसम्म रकम नआएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

यसअघि दोस्राे लहरकाे संक्रमण सुरुभएसँगै १६ वैशाख मा जिल्ला अस्पताल लमजुङ र गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबीच कोभिड-१९ संक्रमित बिरामीको उपचार र व्यवस्थापनका लागि अस्पतालमा कोभिड-१९ केयर युनिट सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । सम्झौतामा उल्लेख भएअनुसार संक्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च अस्पतालको आइशोलेसनमा सामान्य उपचारको लागि दैनिक तीन हजार पाँच सय, मध्यम उपचारको निम्ती सात हजार र गम्भीर उपचारको निम्ती दैनिक १५ हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख छ । सम्झौतामा उल्लेख भएअनुसार प्रत्येक महिना सोधभर्ना भुक्तानी गर्ने उल्लेख भए पनि हालसम्म रकम नआएको अस्पतालले जनाएको हो ।

प्रदेश सरकारबाट प्राप्त हुनुपर्ने ४६ लाख १३ हजार रुपैयाँमध्ये ४५ लाख रुपैयाँ निकासा भइसकेको छ । उक्त रकम जिल्ला स्वास्थ्य कार्यालयमा आइसकेको र आवश्यक प्रक्रिया पुर्‍याएर अस्पतालको खातामा आउन लागेकाे अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड‍-१९ संक्रमितको उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी निर्देशिका जारी गरेको थियो । निर्देशिकामा उल्लेख भएअनुसार कोभिड-१९ को संकास्पद तथा संक्रमितको उपचार निःशुल्क हुने बताइएको छ । संक्रमित व्यक्तिलाई उपचार गरेबापतको लागत रकम अस्पताल, आइशाेलेसन सेन्टरलाई उपलव्ध गराईने साथै होम आइशाेलेसनमा बस्ने बिरामीको क्लिनिकल निगरानी गर्दा लाग्ने रकमसमेत सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराईने निर्देशिकामा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १४:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार