सोसल मिडिया
Contact Us
युनिकोड
लन्डन, ८ पुस । बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार बुधबार मात्र एक लाख छ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका हुन् । यसअघि यहाँ एकै दिनमा ९६ हजार जना जतिमा यो भाइरसका सङ्क्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या हो । बेलायतमा पछिल्ला केही हप्ताहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । हरेक दिनजसो सबैभन्दा धेरै सङ्क्रमितहरू देखिन थालेका छन् । यहाँका अधिकारीहरूले प्रकोप सुरू भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् । यहाँ केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । यसकारण यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ । यहाँ अहिलेसम्म एक करोड १६ लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ । पछिल्ला हप्ताहरूमा सङ्क्रमणको तुलनामा मृत्युदरमा भने उल्लेख्यरूपमा कमी आएको देखिएको बताइएको छ ।– रासस/सिन्ह्वा