भारतमा थप सात हजार ४९५ जनालाई कोरोना सङ्क्रमित, २३६ जनालाई ओमिक्रोन भेरियन्ट

बिहीबार, पुस ८, २०७८

नयाँ दिल्ली, ८ पुस । भारतमा कोरोना भाइरसबाट थप सात हजार ४९५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।  तीमध्ये २३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ६५ जना, दिल्लीमा ५४, तेलङ्गानामा २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको समाचारमा जनाइएको छ ।   
सोही अवधिमा थप ४३४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ७८ हजार ७५९ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । पछिल्ला हप्ताहरूमा सङ्क्रमणको तुलनामा मृत्युदरमा भने उल्लेख्यरूपमा कमी आएको देखिएको बताइएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७८ हजार २९१ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२३ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या ५७६ दिनको नै सब भन्दा कम रहेको अधिकारीले जनाएका छन् ।
गएको २४ घण्टामा भारतमा छ हजार ९६० कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ८ हजार ९२६ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.४१ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।
भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६६ करोड ८६ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ४० लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।– रासस/एएनआई
 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार