नदी कटान बढ्दै, बजेट घट्दै

बिहीबार, पुस ८, २०७८

महेन्द्रनगर, ८ पुस । कञ्चनपुरमा गत कात्तिकमा आएको बमौसमी बाढीले क्षति पु¥यायो । दशकौँपछि साढे पाँच लाख क्युसेक पानी महाकाली नदीमा आउँदा महाकाली नदीमा निमार्णाधीन चार लेनको पहुँचमार्ग भत्काउनुका साथै पारी दोधारा चादँनीतर्फ नदी नियन्त्रणका लागि बनाइएका स्परमा क्षति पुग्यो ।
यसका साथै यहाँका ठूला दोदा र खुटिया नदीमा आउने बाढीले पनि खेतीयोग्य जमिन हरेकवर्ष कटान गरिरहेकै छन् । तर नदी नियन्त्रणको जिम्मेवारी पाएको निकायमा पनि सरकारले बजेट कटौती गर्दै लगेको पाइएको छ । झण्डै बाह्र वर्षअघि यहाँ स्थापना गरिएको जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ महेन्द्रनगरले दशकयता तटबन्ध निर्माणमा अग्रसरता देखाए पनि बजेट अपुग हुँदा नतबन्ध निर्माणको गति भने बढाउन सकेको छैन ।
जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ महेन्द्रनगरका कार्यालय प्रमुख मनोरञ्जनकुमार सिंहले यसवर्ष नदी नियन्त्रणको आपतकालीन बजेट कटौती भएर आएको बताए । “गत वर्ष रु १८ करोड ३२ लाख बजेट थियो ।” उनले भने, “चालू आर्थिक वर्षमा रु १२ करोड ४१ लाख मात्रै बजेट आएको छ ।”
विसं २०६६ यता महाकाली नदीको तटीय क्षेत्रमा तटबन्ध निर्माणको काम गर्दै आएको तटबन्ध कार्यालयले अहिले महाकाली नदी पारी दोधारा चादँनी, दोदा, मोहना र कैलालीको खुटिया नदीमा प्राथमिकताका आधारमा नदी नियन्त्रणको काममा जुटिरहेको छ ।“जोखिम र बढी क्षति भएको ठाउँमा तटबन्धलगायत संरचना निर्माणका लागि अहिले पनि बोलपत्र आह्वान गरेर प्रक्रिया अघि बढेको छ ।” सिंहले भने, “एडिबिको सहयोग पनि यहाँ तटबन्ध निर्माणको काम अघि बढ्ने सुरसारमा छ ।”
तटबन्धको नियमित बजेट अन्तर्गत यहाँ दोधारा चादँनीमा चार वटा स्पर र तटबन्धको उचाइ बढाउने कामको ठेक्का प्रक्रिय अघि बढेको छ । भने दोदा नदी अन्तर्गत लालझाडी र बेलौरीमा गरेर ५१७ मिटर तटबन्ध निर्माण चालू आवमा सुरु हुनेछ ।
त्यसैगरी मोहना नदीको कञ्चनपुर र कैलालीतर्फ गरेर २५० मिटर तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ । कैलालीको खुटिया नदीको जोखिम भएको क्षेत्रमा ५७ मिटर तटबन्ध अब बन्ने र गत आर्थिक वर्षमा ठेक्का भएअनुरुप अहिले २०४ मिटर लम्बाइको तटबन्ध निमार्ण भइरहेको सिंहको भनाइ छ ।
त्यसैगरी यहाँ नयाँ प्रविधिमा आधाररित स–साना नदी नियन्त्रणका कार्य अघि बढेको तटबन्ध कार्यालयको भनाइ छ । चालू आवमै कैलालीको खुटिया र मोहना नदीमा तटबन्ध निर्माणका लागि सरकार र एडिबीको संयुक्त लगानीमा रु ५१ करोडको तटबन्ध निर्माणका लागि ठेक्का भइसकेको छ । “उक्त तटबन्धको निर्माण अवधि तीन वर्ष रहने गरी टिम्स–राजेन्द्र जेभीलाई ठेक्का दिइएको छ ।” उनले भने,“सो प्याकेजमा १२ वटा स्थानमा तटबन्ध निर्माणको काम हुनेछ ।”
यहाँ प्रदेश र स्थानीय तहसँगै विभिन्न दातृ निकायले पनि तटबन्ध निमार्णमा सक्रियता देखाएका छन् । यहाँस्थित नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) ले पनि दोदा नदीको विभिन्न क्षेत्रमा जैविक तटबन्ध निर्माणमा सहयोग गर्दै आएको छ ।
समाज कल्याण सङ्घका कार्यकारी निर्देशक अशोकविक्रम जैरुले सामुदायिक विपत् व्यवस्थापन समिति र पालिकासित समन्वय गरेर पटक÷पटक यहाँको दोदा नदीमा जैविक तटबन्ध निर्माण गरिएको बताए । “रेडक्रसलगायत अन्य सङ्घ÷संस्थाले पनि जैविक तटबन्धलाई समुदायमा उपभोक्ता समिति बनाएर स्थानीयवासीलाई तालिम र उद्दारका बारेमा सक्रिय बनाएका छन् ।” उनले भने, “जैविक तटबन्धले पनि यहाँ नदी कटानको समस्या धेरै ठाउँमा कम भएको छ ।”
कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले दातृ निकायसित समन्वय गरेर दोदा नदीमा कटान नियन्त्रणका लागि आफू लागिपरेको बताए । 
“लालझाडीको प्रमुख समस्य भनेकै दोदा नदीको कटान हो” उनले भने, “पुर्नबास नगरपालिकाको सिमानासम्म हेर्दा हजारौँ बिघा खेतीयोग्य जमिन दोदाले बगाइसकेको छ ।”
उनले पालिका र दातृ निकायले केही वर्षयता जैविक तटबन्ध निर्माणमा जोड दिएको बताए । “जनताको तटबन्धले पनि यहाँ नदी नियन्त्रणका लागि काम गरिरहेकै छ” उनले भने, “नदीले बाढीका बेला धार कताकता पु¥याउछ, त्यो नियन्त्रणमा समस्या नै छ ।” 
उनले जैविक तटबन्धले कतिपय स्थानमा प्रभावकारीरुपमा काम गरेको बताए ।
 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार