ललितपर महानगरमा अपाङगता र वातावरण मैत्री फुटपाथ निर्माण 

शुक्रबार, कात्तिक २८, २०७७

ललितपुर । ललितपुर महानगरपालिकासँग सहकार्य गरेर एसियन कंक्रिटो प्रालिले हरिहरभवनमा अन्तर्राष्ट्रियस्तरको अपाङ्गता र वातावरण मैत्री फुटपाथ निर्माण गरेको छ । उक्त प्रालिले नमूना फुटपाथको रुपमा निर्माण गरेको फुटपाथ शुक्रबार आयोजित एक कार्यक्रममा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । ९० मिटरको उक्त फुटपाथ उद्घाटन अघि एसियन कंक्रिटोले महानगरलाई हस्तान्तरण गरेको थियो । फुटपाथ महानगरको वडा नं ३ मा पर्दछ । महानगर प्रमुख महर्जनले अन्यत्रको भन्दा यो फुटपाथ आकर्षण भएको बताउँदै गुणस्तरीय सामग्री प्रयोग गरेर निर्माण भएको जानकारी दिए । 
ललितपुर महानगरले अब बनाउने फुटपाथमा यस्तै सामग्री प्रयोग गर्ने स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय मापदण्डको यस्तो फुटपाथ बनाउने ललितपुर महानगरपालिका सम्भवत पहिलो भएको दाबी गरे । फुटपाथ स्मार्ट सिटीको महत्वपूर्ण तत्व भएको बताउँदै गुणस्तरीय सामग्री प्रयोग गरेर फुटपाथ निर्माण गरेकोमा कम्पनीलाई उनले धन्यवाद दिए । 

प्रालिका प्रबन्धनिर्देशक मनोज केडियाले कम्पनीको सामाजिक दायित्वअन्तर्गत यो फुटपाथ निःशुल्क निर्माण गरेको जानकारी दिए । 
फुटपाथमा प्रयोग गरिएका सामग्रीहरु युरोपिन मापदण्डको भएको बताए । ललितपुर महानगरपालिकासँग सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरे । यो फुटपाथ निर्माण गर्दा १९ लाख ५८ हजार ८ सय ७८ रुपैयाँ लागेको उनले जानकारी दिए । 
कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको उपस्थिति थियो । त्यसैगरी महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र महानगरका प्रवक्ता राजु महर्जनलगायत वडा नं १२ का वडा अध्यक्ष नारायणलाल अवाले, १६का अध्यक्ष निर्मल रत्न शाक्यलगायतको उपस्थिति थियो । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  २०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार