सोसल मिडिया
Contact Us
युनिकोड
सिमकोट, १३ पुस । उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् । सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएको छ । खुला चौरका पारिलो घाममा विद्यार्थीको परीक्षा लिइरहेको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए। सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा थप चिसो अत्याधिक बढेको छ । खुला चौरमा परीक्षा दिइरहेको अदानचुलि गाउँपालिकास्थित सूर्योदय माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र दीपक फडेराले बताए। उनले भने, “हिमपात भएपछि विद्यालयको कक्षा कोठाभित्र चिसोले हात कठ्याङ्ग्रिएर कलम चलाउनसमेत कठिन हुने गरेको छ । खुल्ला चौरमा परीक्षा दिन बाध्य छौँ । ” विद्यार्थीले यसवर्ष पनि कोरोनाले पूरै समय अध्ययन गर्न नपाएको र चिसोले परीक्षा दिन सकस भइरहेको जनाएका छन् । सिमकोट गाउँपालिकास्थित मानसरोवर नमूना माध्यमिक विद्यालयका छात्रा एञ्जीला रोकायाले घाममा आएर परीक्षा दिन थालेपछि लेख्न सजिलो भइरहेको बताउनुभयो । विद्यार्थीले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ । शिक्षक रेसमराज रोकायाले चौरमा परीक्षा सञ्चालन भइरहेको बताए ।
चिसो बढेपछि विद्यालय जाने बालबालिका घटे केही दिनयतादेखि मौसममा परिवर्तन हुनाका साथै ह्वात्तै चिसो बढेपछि उदयपुर जिल्लाको पहाडी क्षेत्र र तराईका विद्यालयमा विद्यालय जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ ।सबैभन्दा उच्च पहाडी क्षेत्रमा अवस्थित लिम्चुङबुङ गाउँपालिको माझखर्क, सातदोबाटे तथा रौतामाई गाउँपालिकाको नामेटार, टाट्ने र रौता बोलुङ्खा क्षेत्रका विद्यालयका तल्ला कक्षाका विद्यार्थीको उपस्थिति चिसोको कारण न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकले बताए । एक हप्तादेखि ह्वात्तै चिसो बढ्न थालेपछि तल्ला कक्षाका नानीहरुको उपस्थिति कम हुन थालेको रौता बोलुङखास्थित पञ्चकन्या आधारभूत विद्यालयका शिक्षिका रीताकुमारी मगरले बताइन्।
ह्वात्तै चिसो बढेका कारण नानीहरुमा निमोनिया वा टाइफाइड हुने र चिसोका कारण अन्य असर हुन सक्ने भन्दै अहिले अभिभावकले साना नानीहरुलाई बिद्यालय नपठाएको सोही स्थान निवासी दानबहादुर पुलामी मगरले उल्लेख गरे । यता जिल्लाको तराई क्षेत्रको त्रियुगा नगरपालिकाको जोगिदह, मोथ्याई, चौदण्डी नगरपालकाको हँडिया, सुन्दरपुर तथा बेलका नगरपालिकाको तपेस्वरी भागलपुर र आम्बासी क्षेत्रका विद्यालयमा पनि चिसो बढ्न थालेपछि ५० प्रतिशत मात्र विद्यार्थी दैनिक उपस्थित हुने गरेको र अन्य भने चिसोको कारण घरमानै बस्ने गरेको सप्तकोशी माविका शिक्षिका सुमित्रा पोखरेलले जानकारी दिए । ह्वात्तै चिसो बढ्न थालेका कारण र अझै कोभिडको डर त्रासका कारण पनि कतिपय अभिभावकले घरमै राख्न थालेको हँडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीको भनाइ थियो । जिल्लाको सदरमुकाम गाईघाट,बेलका नगरपालिकाको आसपास, चौदण्डी गढी नगरपालिकाको बेल्टार र कटारी बजारका विद्यालयमा भने अहिलेसम्म पनि विद्यार्थी नियमति विद्यालय आइरहेको सम्बन्धित विद्यालयका शिक्षकले बताए ।जिल्ला सदरमुकामबाहेक पहाडी र अन्य क्षेत्रका विद्यालयका विद्यार्थी पनि चिसोको कारण विद्यालयमा उपस्थिति घटन थालेको बताइएको छ ।–रासस