सोसल मिडिया
Contact Us
युनिकोड
काभ्रेपलाञ्चोक, १४ पुस । नमोबुद्ध नगरपालिकामा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाका लागि नगरपालिकाले धुलिखेल अस्पतालसित सम्झौता गरेको छ । नमोबुद्ध–११ मा केन्द्र स्थापनाका लागि दुवै नगरबीच सम्झौता भएको हो । केन्द्रमा स्वदेश तथा विदेशका स्वास्थ्य तथा शिक्षासम्बन्धी अनुसन्धान गरिने छ । नमोबुद्धका नगरप्रमुख टिपी शर्मा तिमल्सिना र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा रामकण्ठ माकजुले समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । स्वास्थ्य अनुसन्धानमा आधारित स्नातकोत्तर तथा विद्यावारिधीका कार्यक्रमका लागि केन्द्रलाई विकास गरिने सम्झौतापत्रमा उल्लेख छ । अस्पतालले अनुसन्धान केन्द्र स्थापना गरी तोकिएअनुसार कार्य सञ्चालनपश्चात सम्बन्धित वडा कार्यालयसँग समन्वय र सहकार्य गरी शैक्षिक, स्वास्थ्य, अनुसन्धानलगायतका क्षेत्रमा स्थानीयवासीलाई समेत सहभागी गराउने विषयमा समझदारी भएको छ । यस्तै केन्द्रका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने, आवश्यक स्रोत साधनको व्यवस्था गर्ने तथा रोजगारीमा स्थानीयवासीलाई प्राथमिकता दिइने समझदारी भएको तिमल्सिनाले बताए । अस्पतालका कार्यकारी निर्देशक माकजुले अनुसन्धान केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराएकामा नगरपालिकालाई धन्यवाद दिए। करिब अढाइ दशकअघि सुरु गरिएको धुलिखेल अस्पताल अहिले स्वास्थ्य सेवातर्फ मुलुककै अब्बल संस्था बनेको उनको भनाइ छ ।