सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १४ पुस । पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले सात हजार ६०८ जनामा कोरोना परीक्षण गर्दा २२० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा चार हजार ८६४ पुगेको छ । सङ्क्रमण दर ३।२ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय थप २५३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ११ हजार ५१८ पुगेको छ । काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा १३ जना, ललितपुरमा १८ र काठमाडौँमा ९२ जना सङ्क्रमित भएका छन् । उहाँका अनुसार होम आइसोलेशनमा चार हजार ६०८, संस्थागत आइसोलेशनमा २५६, आइसियुमा ८७ र भेन्टिलेटरमा २१ जनाको उपचार हुँदैछ ।
कोरोनाबाट दुईको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९० पुगेको छ । त्यसैगरी पछिल्लो समय दुई लाख दुई हजार ६८७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
खोप लगाउन सरकारको आग्रह सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन उपत्यका सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरसको जोखिम कम गर्न उपत्यकाका सबैलाई खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका सबैलाई सूचना जारी गर्दै भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनिका खोप लगाउन आग्रह गरेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । काठमाडौँ र ललितपुरमा बिहान १० देखि ३ बजेसम्म र भक्तपुर बिहान १० देखि १ बजेसम्म खोप लगाउन आग्रह गरिएको छ । काठमाडौँ र ललितपुरमा ११÷११ खोप केन्द्र र भक्तपुर दुई खोप केन्द्रमा १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन भनिएको छ । काठमाडौँमा सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शहीद मेमोरियल अस्पताल कलङ्की, लोत्से भवन नयाँ बसपार्क, वीरअस्पताल, बयोधा अस्पताल, निजामति कर्मचारी अस्पताल र एपेक्स पोलिक्लिनिक कोटेश्वरमा खोप लगाइदै छ । यस्तै भक्तपुरमा नेपाल कोरियामैत्री अस्पताल ठिमी र खोपः अस्पताल च्यामसिंह तथा ललितपुरमा पाटन अस्पताल, छवा–बहाल जनस्वास्थ्य शाखा र सैबु स्वास्थ्यचौकी, बज्रवराही चापागाउँ अस्पताल, बाडेगाउँ प्राथमिक स्वास्थ्यचौकी, लेले स्वास्थ्य प्राथमिक केन्द्र, लुभू प्राथमिक स्वास्थ्य केन्द्र, इमोडोल स्वास्थ्यचौकी, भट्टेडाँडा स्वास्थ्यचौकी, चौघरे स्वास्थ्यचौकी र गोटीखेल स्वास्थ्यचौकीमा पनि खोप लगाइँदै छ । सरकारले नियमितरूपमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदै आएको छ ।