नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि  

शुक्रबार, पुस १६, २०७८

नयाँ दिल्ली, १६ पुस । दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । 
हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताए । अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरु त ओमिक्रोनकै भएको बताए ।
उनले भने, अनुसन्धानबाट यो देखिएको छ कि यहाँका सङ्क्रमितहरुमा ओमिक्रोनको सङ्क्रमण बढी देखिएको छ । त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ । त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ ।
कतै पनि नगएका नागरिकमा यस्तो संक्रमण पाइएको छ, अनि यस्तो अवस्थामा हामीले निकालेको निष्कर्ष यो हो कि यहाँका समुदायस्तरकै नागरिकसम्म नै यसको सङ्क्रमण पुगेको छ । 
भारतमा ओमिक्रोनको सङ्क्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै नी तिब्र गतिमा यो फैलिएको छ उनले भनेका छन् । 

नयाँ दिल्ली र मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुमा कडाई
नयाँ दिल्ली र मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि यहाँ नयाँ वर्षका कार्यक्रमहरुमा कडाई गरेको छ ।भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यहाँ कोरोनाको ओमिक्रोन भेरियन्ट झन् ठूलो मात्रामा बढेको छ ।
यहाँका सरकारहरुले कोरोना भाइरस र त्यसमा पनि ओमिक्रोनको प्रकोप बढेपछि नयाँ वर्ष मनाउन सार्वजनिक स्थानहरुमा गर्ने समारोह, मेला तथा जमघट लगायतका कुनै पनि कार्यक्रमहरु नगर्न सूचना जारी गरेका हुन् । बिहीबार मात्र भारतभर १२७० जना ओमिक्रोनका सङक्रमित भेटिएका छन् । तीमध्ये नयाँ दिल्लीमा मात्र ३२० जना पाइएका छन् । त्यसपछि धेरै मुम्बईमा पाइएका छन् ।
यसरी प्रत्येक दिन ओमिक्रोन भेटिन थालेपछि सरकारले सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाएको बताइएको छ । भारतको राजधानी नयाँ दिल्ली तथा आर्थिक राजधानी मानिने भारतीय ठूलो सहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुको आयोजना गरिएको र त्यसका कारण झन् सङ्क्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरु गर्ने काममा प्रतिबन्ध लगाएको हो ।
दिल्ली सरकारले यसअघि नै रातिमा कफ्र्यु नलगाइने तर मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको जनाएको छ ।नयाँ दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र संक्रमित पाइएकामा हिजोआज दिनहुँ हजारभन्दा बढी संक्रमित भेटिएका बताए ।

भारतमा कोरोना भाइरसबाट थप १६ हजार ७६४ सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट थप १६ हजार ७६४ सङ्क्रमित भएका  केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित सङ्ख्या तीन करोड ४८ लाख ३८ हजार ८०४ पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये एक हजार २७० जना ओमिक्रोन भेरियन्टका रहेका छन् । 
सोही अवधिमा थप २२० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८१ हजार ८० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । 
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ९१ हजार ३६१ रहेका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२६ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । 
गएको २४ घण्टामा भारतमा सात हजार ५८५ जना कोरोनाबाट मुक्तभएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ६६ हजार ३३६ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३६ प्रतिशत रहेको जनाइएको छ । 
भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६७ करोड ७८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ जनवरी १६ सन् २०२१ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ४४ करोड ५४ लाख बढी डोज खोप लगाइएको जनाइएको छ ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार