शुक्रबार देशभर थपिए २३५ सङ्क्रमित थपिए

शुक्रबार, पुस १६, २०७८

काठमाडौँ, १६ पुस । पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा नौ हजार ८४ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा चार हजार ८७९ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो समय थप २१२ जना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार ९५८ पुगेको छ । 
यस्तै पछिल्लो पटक सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ५९४ जनाको मृत्यु भइसकेको छ । पाँच सयभन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लाहरूमा सुनसरी, कास्की, बाँके र कैलाली छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा छन् । नेपालमा सङ्क्रमण दर १७ प्रतिशत रहेको छ ।
हाल होम आइसोलेशनमा चार  हजार ६५१, संस्थागत आइसोलेशनमा २२८, आइसियुमा ८९ र भेन्टिलेटरमा २४ जनाको उपचार भइरहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ३९ हजार  १५२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

सुदूरपश्चिममा थप दश जनामा सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप दश जनामा  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट ६१८को नमूना परीक्षण गर्दा दश जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत तीन र एन्टीजेनमार्फत सात जनामा पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा तीन र एन्टीजेनमार्फत कैलालीका चार र कञ्चनपुरका तीनमा सङ्क्रमण पुष्टि भएको छ ।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर एक जना पनि डिस्चार्ज भएका छैनन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । 

यसअघि बिहीबार यस प्रदेशमा तीनमा सङ्क्रमण पुष्टि हुँदा तीन जना  निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार