वर्तमान सरकार तीन तहकै निर्वाचन गराउन सक्षम : गृहमन्त्री खाँड

'स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताउन सम्पूर्ण कांग्रेस एक हुनुपर्छ'
शनिबार, पुस १७, २०७८

ललितपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाँणले कांग्रेस नेतृत्वको वर्तमान सरकार तीन तहकै निर्वाचन गराउन सक्षम रहेको बताएका छन् । उनले वर्तमान सरकारको दायित्व मुलुकमा शान्ति, सुरक्षा कायम राख्नु भएको बताउँदै निष्पक्ष, धाँधलीरहित, भयरहित र शान्तिपूर्ण तरीकाले निर्वाचन समयमै सम्पन्न गर्न सक्षम भएको दाबी गरे । 
उनले भने, नेपाली कांग्रेसको नेतृत्वले रहेको सरकार भयरहित, धाँधलीरहित र शान्तिपूर्ण तरीकाले निर्वाचन गराउँछ, गराउन सक्छ, शान्ति सुरक्षामा हामी कुनै कम्प्रमाइज गर्दैनौं ।’ 
निर्वाचन नेपाली कांग्रेसको घोेषित आधारशीला भएको बताउँदै जनताको मत अभिमतबाट सरकार बन्छ भन्ने कुरामा विश्वास गर्ने बताए । गृहमन्त्री खाँडले निर्वाचनमा जित्न सक्नेले उम्मेदवारी दिनुपर्ने तर्क गरे । उनले भने, जसले जित्न सक्छ , त्यसले उम्मेदवारी दिने, जसले जिताउन सक्छ, त्यसको साथ दिने हो ।’ 
नेपाली कांग्रेस ललितपुरले आयोजना गरेको शुभकामना, सम्मान तथा धन्यवाद कार्यक्रमका प्रमुख अतिथि खाँडले नजिक आएको स्थानीय तहका निर्वाचनमा कांग्रेसलाई जिताउन सम्पूर्ण कांग्रेस एक हुनुपर्नेमा जोड दिए । 
बलियो कांग्रेसले मात्रै मुलुकलाई सम्हाल्न र बनाउन सक्ने बताउँदै उने भने, ‘कांग्रेस बलियो छ छैन परीक्षण गर्ने कांग्रेसको आन्तरिक महाधिवेशनले होइन, आम निर्वाचनले हो, त्यसैले नजिकै आएको स्थानीय निर्वाचनमा सफल हुन लाग्नुहोस् ।’ विगतमा कांग्रेसले निर्वाचन हार्दा कांग्रेस मात्रै कमजोर नभएको बताउँदै उनले मुलुक कमजोर हुन पुगेको बताए । उनले कांग्रेस कमजोर हुँदा तत्कालीन सत्तासीनहरुले लोकतन्त्र र संविधानको धज्जी उडाउने काम गरेको बताउँदै कला–संस्कृति, पुरातत्विक परम्परा, नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता रक्षाका लागि कांग्रेस नेतृत्व अपरिहार्य रहेको दाबी गरे । 
 कार्यक्रममा जिल्ला कार्यसमितिले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ललितपुरबाट केन्द्रीय सदस्यमा निर्वाचित निवर्तमान पार्टी सभापति मदनबहादुर अमात्य, तरुण दलका पूर्वअध्यक्ष उदय शम्शेर राणा, तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत र महिला नेतृ उर्मिला केसी नेपाललाई बधाई तथा सम्मान गरेको थियो । 
त्यस्तै बागमती प्रदेशमा निर्वाचित उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषि राम घिमिरे, सदस्यहरु राजिवराज पौडेल, प्रविणा शर्मा, महान अर्याल, तारादेवी दुलाल पन्त, लक्ष्मी महर्जन र मोहमद मुकिमलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  २०:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार