सडक डिभिजन कार्यालय ललितपुर पुनस्र्थापित

आइतबार, पुस १८, २०७८

ललितपुर, १८ पुस । केपी ओली सरकारले खारेज गरेको सडक डिभिजन कार्यालय ललितपुर पुनस्र्थापित भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले सडक डिभिजन कार्यालय ललितपुर पुनस्र्थापित गर्ने निर्णय गरेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ वैशाख २३ गते सडक डिभिजन कार्यालय ललितपुर खारेज गरेको थियो । 
उक्त कार्यालय ललितपुरमा नै  पुनस्र्थापित गर्न पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणा र ऊर्जामन्त्री पम्फा भुसाल, ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पूर्वअर्थराज्यमन्त्री राणाले शब्दपाटीसँग भने, ‘हामी सबैको प्रयासमा सडक डिभिजन कार्यालय ललितपुर पुनस्र्थापित भएको छ, यो कार्यालय पुनस्र्थापित गर्ने निर्णय गरेकोमा मन्त्रिपरिषद्लाई धन्यवाद दिन चाहन्छु ।’ 
गोदावरी नगरपालिकाको नगर परिषद्ले उक्त कार्यालय ललितपुरमा नै पुनस्र्थापनाका लागि माग गर्ने निर्णय गरेको थियो । नगर प्रमुख गजेन्द्र महर्जनले परिषद्को निर्णय अनुसारको माग सम्बोधनका लागि आफूहरु भौतिक पूर्वाधार मन्त्रालय पनि गएको जानकारी दिए । उनले भने, ‘हामी सबैको पहलमा वर्तमान सरकारले यो कार्यालयलाई ललितपुरमा नै पुनस्र्थापित गरेको छ, यो हाम्रा लागि खुसीको कुरा हो ।’ 
ललितपुर महानगरले पनि कार्यपालिका बैठकमा उक्त कार्यालय ललितपुरमा पुनस्र्थापित गर्न छलफल गरी भौतिक पूर्वाधार मन्त्रालयमा ‘डेलिगेसन’ गएको महानगरप्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘वर्तमान सरकारले सम्पूर्ण ललितपुरवासीको आवाजको सम्बोधन गरिदिएको छ, त्यसका लागि धन्यवाद ।’
ललितपुरका अन्य नेताहरुले पनि उक्त कार्यालय पुनस्र्थापित गराउनका लागि आवाज उठाएका थिए । ललितपुरमा सडक निर्माण र विस्तार आवश्यक नरहेको भन्दै पूर्ववर्ती सरकारले सडक कार्यालय खारेज गरेको थियो । सडक कार्यालय खारेज गर्ने निर्णयको ललितपुरवासीले त्यति बेला देखि नै कडारुपमा प्रतिवाद गर्दै आएका थिए । 
 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २१:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार