सोसल मिडिया
Contact Us
युनिकोड
वीरगञ्ज, १९ पुस । कोभिड– १९ विरुद्धको खोप, हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ पर्सा जिल्लामा आजदेखि पुनः ‘कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।यसअघि सञ्चालन गरिएको अभियानमा पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा वा छुटेका १८ वर्ष उमेरमाथिका सबै व्यक्तिलाई पहिलो मात्रा खोप लगाउने उद्देश्यले जिल्लाभर यस महिनाको पाँच÷पाँच दिन दुई चरणमा खोप अभियान सञ्चालन गरिएको हो । स्थानीय तहसँगको सहकार्यमा जिल्लाको सबै स्वास्थ्य संस्था तथा आवश्यकताका आधारमा तत्कालै खोप केन्द्र थप हुने गरी खोप अभियान सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति जयमोद ठाकुरले जानकारी दिए ।जिल्ला खोप समन्वय समितिको निर्णयअनुसार आजदेखि पुस २३ गतेसम्म पर्सागढी, पोखरिया नगरपालिका, सखुवाप्रसौनी, जिराभवानी, ठोरी, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकामा तथा २३ देखि २७ गतेसम्म वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, विन्ध्वासिनी, धोविनी, छिपहरमाई, कालिकामाई र पकाहामैनपुर गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । अभियानलाई अझ प्रभावकारी बनाउन वीरगञ्जका तीन वटै निजी अस्पताल, नारायणी अस्पताल र पोखरिया अस्पतालबाट समेत तोकिएको दिन खोप लगाउन पाउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा समेत गरी ३७ वटा खोप केन्द्र स्थापना गरिएको छ । वीरगञ्जको विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा आइतबार, गण्डकस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा मङ्गलबार र घण्टाघर लिङ्करोडको भवानी अस्पतालमा बिहीबार खोप लगाउन सकिन्छ भने नारायणी अस्पतालमा सोमबार र बुधबार दुई दिन, पोखरिया अस्पतालमा शुक्रबार खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ । जिल्ला खोप समन्वय समितिले २०७८ पुस मसान्तभित्र दुई तिहाइ नागरिक अर्थात् ६६ प्रतिशतले खोप लगाइसक्ने लक्ष्य लिएको छ । जिल्लामा हालसम्म ३८दशमलव०२ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ६० दशमलव ५७ प्रतिशतले एक मात्रा खोप लगाइसकेको अवस्था छ । एक लाख ६९ हजार ३१५ जनाले कोभिसिल्ड, भेरोसेल, जनसन र एस्ट्राजेनिकाको दुवै मात्रा खोप लगाइसकेका र दुई लाख ६९ हजार ७५४ जनाले यी खोपको पहिलो मात्रा लिएको अवस्था छ । जिल्लामा १८ वर्षभन्दा माथिका लक्षित समुदायको सङ्ख्या चार लाख ४५ हजार ३६८ छ ।
पच्चिस हजार बालबालिकालाई खोप बाजुराज जिल्लाका पच्चीस हजार स्कुले बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ११ वर्ष माथिदेखि १८ वर्ष मुनिका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका नौवटै स्थानीय तहमा रहेका विद्यालयमा अध्यनरत ३३ हजार बालबालिकामध्ये पहिलो चरणमा पच्चीस हजार बालबालिकालाई खोप लगाउन सुरु गरिएको कार्यालयको भनाइ छ । जिल्लामा ३३ हजार विद्यार्थीको तथ्याङ्क प्राप्त भए पनि पच्चीस हजार डोज मात्रै खोप उपलब्ध भएका कारण पहलो चरणमा पुग्ने जतिलाई खोप लगाउन थालिएको र बाँकीलाई दोस्रो चरणमा लगाइने कार्यालयका स्रोत व्यक्ति डिल्लीरमण जोशीले जानकारी दिए । उनका अनुसार हालसम्म कम्तीमा पनि १० हजार जनालाई खोप लगाइएको छ । यो खोप फ्रिजबाट निकालेको एक महिनाभित्र लगाइसक्नुपर्ने भएकाले चाँडै लगाउन थालिएको स्रोत व्यक्ति जोशीले बताउनुभयो । यहाँका ९५ प्रतिशत खोप केन्द्र विद्यालयमै दिइने र केही खोप केन्द्र अस्पताल तथा स्वास्थ्य चौकीबाट उपलब्ध गराइने भएको छ । विद्यार्थी पनि खुसीकासाथ कोरोनाविरुद्धको खोप लगाउन थालेका कार्यालयका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए । उनले भने, “हामीले विद्यालयमै कोरोना विरुद्धको खोप लगाउन सुरु गरेका छौँ, विद्यार्थी पनि खुसीकासाथ खोप लगाउन थालेका छन् ।”