सोसल मिडिया
Contact Us
युनिकोड
छ्यान्द्रङ्ग छ्यान्द्रङ्गको आवाज सुनेपछि कोठामा बसेर ल्यापटपमा औंला दौडाइरहेकी म कौसीमा निस्केँ । घर अघिल्तिरको सडकमा हिँडिरहेको मान्छेलाई मैले ‘ए भाइ यता आउनुहोस् यता’ भन्दै बोलाएँ । ती भाइ म तिर लम्किए । मैले उनलाई भनेँ, ‘ग्याँस चूल्हो बिग्रिएको छ, बनाउनु हुन्छ ? उनले बनाउँछु ‘साहुनी’ भने । उनले मलाई गरेको सम्बोधन शब्दले म झसङ्ग भएँ । एकदमै अप्ठ्यारो महसुश भयो । मैले उनलाई साहुनी नभन्न अनुरोध गरेँ । दिदी भन्नुस भन्दा उनी अप्ठ्यारो मानिरहेको थिए । शायद त्यतिबेला उनको मन धेरै कुरा खेलेको थियो । मैले सहजै अनुमान लगाएँ । घरको आँगन टेक्ने बित्तिकै उनले झोला बिसाएँ । बोल्ने मेलो सुरु गर्न मैले उनलाई सोधेँ, ‘झोला निकै गह्रौं छ कि, क्याँ हो ?’ उनी फिस्सँ हाँसे मात्रै जवाफ दिएनन् । मैले उनको अनुहार पढेँ र अनुमान लगाएँ, थुप्रै चुनौती र असहजतालाई बोकेर हिँडेको मान्छेलाई दुई चार किलाको झोला के गह्रौं हुन्न । अहिलेसम्म उनले घर¬ घर पुगेर कतिवटा बिग्रिएको चुल्हो बनाए होलान् ? उनलाई सोध्न मसँग यस्ता एक दर्जन प्रश्न मनमा मडारिरहेका थिए । तर, उनी म भन्दा पहिला भए । ‘बर्नरका प्वाल टालिएको रहेछ, ज्वाला कम आएको थियो होला है’ उनको शालीन शैलीले एकछिन त अवाक भएँ । म उसले बनाउँदै गरेको चुल्होमा भन्दा नागेश्वरले जीवन चलाउन बाल्ने चुल्होबारेमा कुरा गर्न थाले । नाम सोधेँ । कमाई सोधेँ । घर सोधेँ । यस्तै यस्तै प्रश्न सोध्दा नागेश्वरले दिएको जवाफबाट निचोड निकालेँ—आखिर जीवन चल्नु र चलाउनु रहेछ । जीवन चलाउन गर्ने श्रमप्रतिको सम्मान सबैभन्दा ठूलो कुरा रहेछ । नागेश्वरका कुरा सुनेपछि ती अल्छीहरु जो श्रम गर्दैन, श्रमप्रति सम्मान गर्दैनन्, तिनका अनुहार आँखा अघिल्तिर घुमिरहे ।
महंगा इच्छा बेकार रहेछन् उनको नाम नागेश्वर पासवान हो । ४१ वर्षका भए । भारतमा जन्मिएका नागेश्वरले कर्मथलो नेपाललाई बनाए । उनी काठमाडौं खाण्डोमा भित्रिएको २७ वर्ष भएछ । काठमाडौं आएको मिति ठ्याक्कै थाहा छैन उनलाई । ‘राजा वीरेन्द्र मर्दा यहाँ आएको त्यस्तै सात वर्ष जति भएको होला’ ललितपुरको कुपण्डोलमा साथीले खोजिदिएको जुन कोठामा पहिलो पटक काठमाडौं आएर बसेका थिए, अहिले पनि उनी त्यही कोठामा बस्छन् । त्यत्तिखेर उनले चार सय तिर्थे । बीचमा बढेर एक हजार पुग्यो । अहिले १५ सय तिर्छन् । त्यो कोठामा उनको गुजारा चलेको छ । भन्छन्, ‘सामान धेरै छैन, कोठा मात्रै किन चाहियो र । ‘फेरि कोठा त सुत्न मात्रै जस्तो पुग्ने हो’ आफ्नो दैनिकीको फेरहिस्त लगाउँदै उनले भने । हुन पनि हो, नागेश्वर बिहान सात बजे कोठाबाट निस्कि सक्ने रहेछन् । घर पुग्ने समयको टुंगो हुँदैन । सम्झना भएसम्म उनी उज्यालोमा घर पुगेका छैनन् । बिहान पाँच बजे उठेपछि उनको दिन सुरु हुन्छ । साँढे ६ बजे भात खाइसक्छन्, घर धन्दा भ्याएर हिँड्दा सात बज्छ । कता लाग्ने दिन हेरेर हुन्छ । शनिबार, आइतबार हरिसिद्धी, खोकना जान्छन् । मंगलबार, बिहीबार सुनाकोठी, धापाखेलतिर आउने रहेछन् उनी ।
उनी जतिबेला काठमाडौं आएका थिए, त्यत्तिबेला घर मुश्किलले देख्न पाइन्थ्यो । आँखाले नभ्याउन्जेल फराकिला फाँट देखिन्थे । तर, ती बेलाका मान्छे भने अलि हेपाहा थिए । मान्छेलाई हेपिहाल्थे । अहिलेका मान्छेको स्वभाव बदलिएको छ । किन होला त्यस्तो ? मैले मान्छेको स्वाभाव तुलना गर्ने जिम्मा उनलाई छोडिदिएँ । तर अहिले ती सब मुश्किल भएका छन् । जताततै धुलै धुलो छ । खपिसक्नु छैन काठमाडौं । सन् १९९४ मा एसएलसी पास गरेका नागेश्वरलाई साइन्स पढ्न खुब मन थियो । तर के गर्नु ! गरिब परिवारमा जन्मेर महंगा इच्छा राख्नु पनि नहुने रहेछ । साइन्स पढ्न संभव भएन । भारतमै काम गर्न र पढ्न थाले । औषधि पसलमा विक्रेताको काम गर्थे । प्लस टु दोस्रो श्रेणीमा पास गरे । उनी भारतबाट काठमाडौं बरोबर आउँजाउँ गरिरहन्थे । काम गर्दै, कमाई जोगाउँदै पढ्ने इच्छालाई मर्न दिएनन् । हिन्दी, मनोविज्ञान, इतिहास विषय राखेर स्तानक पढ्न थाले । यो बेलामा स्टोफ, ग्याँस चुल्हो बनाउने सीप सिक्दै थिए उनी । घरायसी जिम्मेवारी पूरा गर्नु थियो । पढाइ अघि बढाउन सकेनन् । पढाई अघि बढाउन सकेनन् तर, जीवनरुपी रथ चलाइरहे । सुखदुख आउँछन् जान्छन् पाँचखाल, खोपसी, बालाजु, चापागाउँ खोकना ........नपुगेको ठाउँ कतै छैन । उपत्यकाभित्रका धेरै टोल, गल्ली थाहा छ नागेश्वरलाई । उपत्यका बाहिरका पनि धेरै ठाउँ पुगेका छन् नागेश्वर । दिनभर हिँड्दा समय बितेको पत्तै हुँदैन उनलाई । भन्छन्, ‘यात्रा नै रहेछ जिन्दगी ।’ दिनभरको हिँडाईले थाक्छन् । घरधन्दा सकेर सुत्दा घडीले १० बजाउँछ । नागेश्वरले कामको फेरहिस्त लगाइरहँदा मेरो मनमा अर्को प्रश्न आयो । नागेश्वरले कस्तो सपना देख्लान् ? सपना देख्ला कि नदेख्लान् ? उनले भने, ‘खै सपना नै देख्दिन् म त ।’ यो त भयो निन्द्रामा देख्ने सपनाको कुरा । मलाई उनको जीवनको सपनाबारे पनि सोध्न मन लाग्यो । उनले सटिक उत्तर दिए, ‘ज्यानले सक्दासम्म काम गर्र्ने, आफ्नै काममा रमाउने ।’ जति ठूलो प्रस्तावसहित अर्को काम आएपनि यो नछोड्ने निर्धक्क बताउँछन् नागेश्वर । उनमा श्रमप्रतिको सम्मान यति छ कि उनका कुरा सुन्दा सलाम नागेश्वर भन्न मन लाग्छ । सबैभन्दा ठूलो कुरा जीवन हो । सुख दुख जीवनमा आउँछन्, जान्छन् । जतिसुकै धन भए पनि निन्द्रा लाग्दा सुत्ने नै हो । भोक लाग्दा खाने नै हो । त्यसैले उनी पैसाको पछि कहिल्यै लाग्दैनन् । कुनै दिन पाँच सय कमाई हुन्छ त कहिले एक हजार सम्म पनि कमाएका छन् । कमाएको पैसाले परिवार पाल्न पुगेकै छ । नागेश्वरले के बुझेका छन् भने, मिहिनेत गर्नेलाई दुःख हुँदैन । त्यसैले उनी श्रम गर्न हिच्किचाउँदैनन् । घरमा आमाबुवा र श्रीमती छन् । छोरीको विवाह भैसकेको छ । १०÷१५ हजार घर पठाउँछन् । बाँकीले आफ्नो गुजारा चलाउँछन् । श्रमलाई सम्मान गर्ने यीनलाई भन्न मन लाग्छ—क्याबात नागेश्वर ‘किप इट आप ।’