सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २३ पुस । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको छ । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियेन्ट सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही पुस महिनामा एक हजार १४६ जनामा गरिएको परीक्षणमा २५० जनामा एस–जिन नेगेटिभ भेटिएको हो । ती नेगेटिभ देखिएकाका २४ नमूनाको जिन स्क्रिनिङ गर्दा सबैमा सङ्क्रमण पुष्टि भएको हो । ओमिक्रोन भेरिएन्टको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन समेत दिएको छ । “ओमिक्रोनले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यकपर्ने अक्सिजनलगायत अन्य सामग्रीको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ”, मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राद्वारा आज यहाँ जारी विज्ञप्ति भनिएको छ, “सीमानाकामा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजेटिभ आएका केशलाई आइशोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।” मन्त्रालयले एस–जिन स्क्रिनिङ गर्न वीर, निजामती कर्मचारी, वीरेन्द्र सैनिक, त्रिवि शिक्षण र भेरी अस्पताल र प्रदेश नं २ प्रदेश जनस्वास्थ्य प्रयोगशालामा व्यवस्था गरिएको जनाएको छ । ओमिक्रोनका कारण अत्यधिक मात्रामा कोभिड–१९ को सङ्क्रमण बढ्ने सम्भावना रहेको जनाउँदै मन्त्रालयले सबैलाई थप सजगता अपनाउन आग्रह गरेको छ ।
सुदूरपश्चिम उच्च सतर्कता बढाइयो सुदूरपश्चिम प्रदेशका जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएसँगै यसको प्रभाव यस प्रदेशमा पनि देखिएको हो । हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना पुष्टि हुन थालेका स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिहीबार मात्रै यस प्रदेशमा १२० जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि साताको पहिलो दिन आइतबार पाँच, सोमबार २८, मङ्गलबार ४० र बुधबार ५५ जनामा कोरोना पुष्टि भएको थियो । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, जौलजिवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको हो । भारतमा दिल्ली, कर्नाटक, गुजरातलगायत सहरमा सङ्क्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या पनि बढिरहेकाले यहाँ पनि ‘ओमिक्रोन’को उच्च जोखिम रहेको जनाइएको छ । सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
उनले भने, “जोखिम रोक्नका लागि सीमामै परीक्षण गर्ने गरिएको र पोजेटिभ आएकालाई होम आइसोलेसन राख्ने गरिएको छ ।” यसका साथै जिल्ला प्रशासन कार्यालय बैतडीले यातायात, विद्यालय र भीडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्न भनेको छ । ओमिक्रोनको जोखिम रहेकाले कोरोनाविरुद्धको खोप अभियान तीव्र रुपमा अघि बढाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनले भने, “सुदूरपश्चिम प्रदेश उच्च जोखिममा रहेकाले भारतबाट आउनेको कोरोना परीक्षण र खोप लगाउने प्रबन्ध मिलाइएको छ ।”
यसका साथै ओमिक्रोन रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई बढाइएको छ । यस प्रदेशमा हालसम्म ५० प्रतिशत बढीले खोप पाइसकेका छन् । यसका साथै सीमानाकामा थप प्रभावकारी ढङ्गले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतको भन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटाइएको छ । भारतसँग खुल्ला सीमा नाका भएका कारण सङ्क्रमण नियन्त्रणमा केही चुनौती रहेको निर्देशनालयले जनाएको छ । विगतमा अवैध नाकाबाट भारतबाट मान्छे आउने गरेकाले जोखिम बढेकाले अब पनि अवैध नाकाबाट आउन नदिनु नै चुनौती हुने देखिएको छ । प्रदेशमा हालसम्म चार लाख ३५ हजार ७२५ जनाको कोरोना परीक्षण गरिएकामा ४८ हजार ५१९ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा ६१४ जनाको ज्यान गइसकेको छ । यस प्रदेशका विभिन्न आठ प्रयोगशालामार्फत पिसिआर परीक्षण र प्रदेशका सबै जिल्लामा एन्टीजेनमार्फत पनि परीक्षण कार्य जारी छ । यहाँका सबै जिल्लामा गरेर ३९२ आइसोलेसन शय्या, १३४ एचडियु, १२६ कोभिड एचडियु, ६३ आइसियु, ४८ कोभिड आइसियु श्य्या,४५ भेन्टिलेटर र २६ कोभिड भेन्टिलेटर तयारी अवस्थामा राखिएका छन् । प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान पनि जारी छ । सरकारले सबैलाई खोप लगाउन पनि आग्रह गरेको छ ।