सोसल मिडिया
Contact Us
युनिकोड
चितवन, २६ पुस । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्रममा पुस २५ गते चितवनका ४० जनामा कोरोना देखिएको थियो । जिल्लाका ४५८ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको हो । पुसको तेस्रो सातासम्म ५ देखि १२ जना सम्ममा कोरोना देखिएकोमा २५ गतेको परीक्षणमा बढेर ४० पुगेको हो । यस्तै एन्टिजेन परीक्षणका क्रममा एक जनामा कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिइन् । उनका अनुसार सङ्क्रमण देखिनेमा भरतपुर महानगरपालिकाका– २९, रत्ननगर नगरपालिकामा ५, माडी र राप्ती नगरपालिकामा ३÷३ र खैरहनी नगरपालिकाका १ जनामा कोरोना सङ्क्रमण देखिएको हो । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ११९ जना रहेको छ । जसमध्ये सातजना होम आइसोलेशनमा र ११२ जना होम आइसोलेशनमा रहेका छन् । यसअघिका दिनमा सङ्क्रमितको सङ्ख्या कम थियो । पुस २४ गते एक जनामा सङ्क्रमण देखिएको थियो । २३ गते ११, २२ गते ९, १८ गते १२, १२ गते ६, पुस १ गते ५ जनामा सङ्क्रमण देखिएको थियो । एकाएक यो सङ्ख्या बढेको हो । चालू आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने जिल्लामा साउन ७ गते २५५ जनामा कोरोना सङ्क्रण देखिएको थियो । साउनको महिना दैनिक २०० हाराहारीमा कोरोना सङ्क्रमण देखिएकोमा भदौमा यो सङ्ख्या घटेर एक सयको हाराहारीमा आएको थियो । यस्तै असोज÷कात्तिकमा ५० को हाराहारीमा रहेको कोरोना सङ्क्रमण मङ्सिरमा २० देखि ३० जनामा देखिन थालेको थियो । यसरी घट्दै गएको सङ्क्रमणको अनुपात अहिले आएर फेरि बढ्न थालेको ढकालले बताइन् । उनले भनिन्, “एक सातापछि कोरोना सङ्क्रमण दर उच्च बन्ने खतरा छ ।” सबैलाई स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न कार्यालयले आग्रह गरेको छ ।
विद्यार्थी तथा बालबालिकाका लागि खोप
भक्तपुर जिल्लामा विद्यालय जाने विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ । जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले जानकारी दिए । कार्यालयले आइतबारदेखि सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा, आजदेखि मध्यपुरथिमि नगरपालिका र भोलिदेखि भक्तपुर नगरपालिका क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने उनले जानकारी दिए । विद्यार्थी तथा बालबालिकालाई मोडर्ना खोप लगाउन थालिएको हो । कार्यालयले पठनपाठन सञ्चालन भएका विद्यालय र विद्यालय नजिक रहेका स्वास्थ्य चौकीमार्फत खोप दिन सुरु गरेको छ । कार्यालय प्रमुख मिजारका अनुसार २५० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर खोप दिन थालिएको र त्योभन्दा कम सङ्ख्या भएका विद्यालयको हकमा भने नजिकैको अर्को विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको छ । विद्यालयमा जाडो बिदा भएर पठनपाठन बन्द भएको तथा परीक्षा सञ्चालन भइरहेको अवस्थामा भने नजिकैको स्वास्थ्यचौकीमा गएर खोप लगाउन सकिने व्यवस्था गरिएको छ । एक पालिकामा कम्तीमा तीन दिन खोप अभियान सञ्चालन गरिने छ । तीन दिनमा नसकिए केही दिन थप गरेर भए पनि सबै बालबालिकालाई खोप दिने गरी अभियान सुरु भएको हो । चाँगुनारायण र सूर्यविनायकका विद्यालयमा हिजोदेखि नै खोप अभियान सुरु भएपछि विद्यार्थीको उल्लेख्य सहभागिता रहेको विद्यालय सञ्चालकले बताए । आफ्ना विद्यालयका विद्यार्थीलाई विद्यालय आफैले नेतृत्व गर्दै खोप केन्द्रसम्म पु¥याएर खोप दिलाउने व्यवस्था गरिएको थियो
डोटीमा ४७. ९८ प्रतिशतलाई कोरोनाविरुद्धको खोप डोटीका कुल ४७.९८ प्रतिशतले कोरोनाविरुद्धको दोस्रो खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा एक लाख आठ हजार ९४ जनालाई खोप लगाउने लक्ष रहेकामा हालसम्म ९१ हजार ३४० जनाले पहिलो मात्रा लगाएका छन् भने ६१ हजार ४६२ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । अठार वर्ष माथिमध्येका ७१.३१ प्रतिशतले खोपको पहिलो मात्रा र ४७. ९८ प्रतिशतले दोस्रो मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । कार्यालयका सूचना अधिकारी अमरसिंह भाटका अनुसार १८ वर्षभन्दा माथिको लक्षित जनसङ्ख्यामध्ये ६६ हजार ६३२ जनाले अझै पूर्ण खोप लगाएका छैनन् । जिल्लामा खोपको मात्र पर्याप्त भए पनि धेरै जनाले दोस्रो मात्रा नलगाएको उनको भनाइ छ ।