सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २६ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्लाका सबै स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्षसम्मका सबै विद्यार्थीलाई खोप लगाउने भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मंगलबारदेखि ती उमेर समूहका विद्यार्थीलाई फाइजर र मोडर्ना खोप लिइने थालेको बताए । उनले पहिलो मात्रा लगाएको चार हप्तापछि दोस्रो मात्रा खोप लगाइने बताए । केही दिन मात्रा ६ लाख ६६ हजार खोपमा प्रयोग गरिने सिरिन्ज आएपछि विद्यार्थीलाई खोप अभियान सुरु गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गरे पनि स्थानीय तहको समन्वयमा विद्यार्थीलाई खोप लगाइने उनले बताए । मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिका लागि खोप लगाउन खोप केन्द्र लिएर जान अनुरोध गरेको छ ।
ललितपुरका निजी र सरकारी विद्यालयका ४४ हजारलाई फाइजर खोप ललितपुर महानगरल पुस २७ गते मंगलबारबाट १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु गर्ने भएको छ । माघ २ गतेसम्म सञ्चालन हुने उक्त खोप कार्यक्रमले महानगरभित्रका निजी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने करीब ४४ हजार विद्यार्थीलाई समेट्ने महानगरले जनाएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले विद्यार्थीलाई खोप लगाउने यो कार्यक्रमलाई सफल बनाउन अभिभावक र विद्यालयको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, ‘विद्यार्थीलाई खोप लगाउने कार्यक्रमलाई साझा जिम्मेवारीको रुपमा लिएर अघि बढ्न अनुरोध गर्छु ।’ उनले खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना र कार्यान्वयन गर्न गराउन समेत उनले आग्रह गरे । महानगरका अनुसार पुस २७ गते महानगरका वडा नं १ देखि ४ सम्मका विद्यालयहरुमा, २८ गते वडा नं ५ देखि ८ सम्मका विद्यालयहरुमा खोप कार्यक्रम सञ्चालन गरिनेछ । त्यसैगरी २९ गते वडा नं ९ देखि १४ र १५ वडाका केही विद्यालयमा यो कार्यक्रम संचालन हुनेछ । ३० गते वडा नं १५ का बाँकी विद्यालय र वडा नं १६ देखि २१ सम्मका विद्यालयमा र आइतवार माघ दुई गते वडा नं २२ देखि २९ सम्मका विद्यालयमा कोरोनाविरुद्धको फाइजर खोप लगाउने व्यवस्था मिलाएको महानगरले जानकारी दिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले यो खोप कार्यक्रमले महानगरभित्रका ४४ हजार विद्यार्थीलाई समेट्ने जानकारी दिए । उनले भने, ‘यो खोप कार्यक्रमलाई सफल बनाउन शिक्षक, विद्यालय प्रमुख लगायत विद्यालय परिवारको भूमिका महत्वपूर्ण हुन्छ , साझा जिम्मेवारी सम्झेर यो कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछु ।’ उनले आफ्ना छोराछोरीलाई खोप कार्यक्रममा सहभागी गराउन अभिभावकको भूमिका थप महत्वपूर्ण हुने प्रष्ट पारे । महानगरले दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालयलाई खोप केन्द्र तोकेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत अर्यालका अनुसार दुई सयभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयका विद्यार्थीले नजिकको विद्यालयमा पुगेर खोप लगाउनुपर्नेछ । उनले भने, ‘प्राविधिक जनशक्ति व्यवस्थापन र सहजताका लागि यस्तो गरेका हौं ।’ खोप कार्यक्रम बिहान १०ः३० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । खोप कार्यक्रम शनिवार सञ्चालन हुने छैन । खोप लगाउन जाँदा विद्यार्थीले विद्यालयको परिचय पत्र वा उमेर खुल्ने अन्य परिचय पत्र लिएर जानुपर्नेछ । पुस २६ गते बसेको महानगरीय खोप समन्वय समितिले बैठकको २७ गतेबाट खोप संचालन गर्ने निर्णण गरेको हो । उक्त बैठकमा प्याब्सन, एनप्याब्सन लगायत विभिन्न विद्यालयका प्रतिनिधिलगायतको उपस्थिति थियो । यस अघि जिल्ला खोप समन्वय समितिको बैठक बसेको थियो ।