ललितपुरका विद्यार्थीलाई आजदेखि एक सातासम्म फाइजर खोप 

निजी र सामुदायिक गरी एकसातामा ४४ हजारलाई खोप लगाइने
मंगलबार, पुस २७, २०७८

ललितपुर : ललितपुर महानगरले पुस २७ गते मंगलबारबाट १२देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु गर्ने भएको छ । माघ २ गतेसम्म संचालन हुने उक्त खोप कार्यक्रमले महानगरभित्रका निजी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने करीब ४४ हजार विद्यार्थीलाई समेट्ने महानगरले जनाएको छ । 
महानगरका प्रमुख चिरीबाबु महर्जनले विद्यार्थीलाई खोप लगाउने यो कार्यक्रमलाई सफल बनाउन अभिभावक र विद्यालयको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, ‘ विद्यार्थीलाई खोप लगाउने कार्यक्रमलाई साझा जिम्मेवारीको रुपमा लिएर अघि बढ्न अनुरोध गर्छु । ’ उनले खोप कार्यक्रम संचालन गर्दा स्वास्थ्य मापदण्ड पालना र कार्यान्वयन गर्न गराउन समेत उनले आग्रह गरे । 
महानगरका अनुसार पुस २७ गते महानगरका वडा नं १देखि ४ सम्मका विद्यालयहरुमा ,२८ गते वडा नं  ५देखि ८सम्मका विद्यालयहरुमा खोप कार्यक्रम संचालन गरिनेछ । त्यसैगरी २९ गते वडा नं ९देखि १४ र १५ वडाका केही विद्यालयमा यो कार्यक्रम संचालन हुनेछ । ३० गते वडा नं १५ का बाँकी विद्यालय र  वडा नं १६ देखि २१ सम्मका विद्यालयमा र आइतवार माघ दुई गते वडा नं २२देखि २९सम्मका विद्यालयमा कोरोना विरुद्धको फाइजर खोप लगाउने व्यवस्था मिलाएको महानगरले जानकारी दिएको छ । 
उपप्रमुख गीता सत्याल खोप कार्यक्रमलाई सफा बनाउन विद्यालय परिवार र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताइन् । 
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले यो खोप कार्यक्रमले महानगरभित्रका ४४ हजार विद्यार्थीलाई समेट्ने जानकारी दिए । उनले भने, ‘ यो खोप कार्यक्रमलाई सफल बनाउन शिक्षक, विद्यालय प्रमुख लगायत विद्यालय परिवारको भूमिका महत्वपूर्ण हुन्छ , साझा जिम्मेवारी सम्झेर यो कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछु । ’ उनले आफ्ना छोराछोरीलाई खोप कार्यक्रममा सहभागी गराउन अभिभावकको भूमिका थप महत्वपूर्ण हुने प्रष्ट पारे । 
महानगरले दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालयलाई खोप केन्द्र तोकेको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत अर्यालका अनुसार दुई सयभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयका विद्यार्थीले नजिकको विद्यालयमा पुगेर खोप लगाउनुपर्नेछ । उनले भने, ‘ प्राविधिक जनशक्ति व्यवस्थापन र सहजताका लागि यस्तो गरेका हौं । ’ खोप कार्यक्रम बिहान १०ः३० बजेदेखि ४ बजेसम्म संचालन हुनेछ । खोप कार्यक्रम शनिवार संचालन हुने छैन । खोप लगाउन जाँदा विद्यार्थीले विद्यालयको परिचय पत्र वा उमेर खुल्ने अन्य परिचय पत्र लिएर जानुपर्नेछ । 
पुस २६ गते बसेको महानगरीय खोप समन्वय समितिले बैठकको २७ गतेबाट खोप संचालन गर्ने निर्णण गरेको हो । उक्त बैठकमा प्याब्सन, एनप्याब्सन लगायत विभिन्न विद्यालयका प्रतिनिधिलगायतको उपस्थिति थियो । यस अघि जिल्ला खोप समन्वय समितिको बैठक बसेको थियो । 

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ०८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार