सोसल मिडिया
Contact Us
युनिकोड
बेनी, २८ पुस । म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन् । गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो ।हालसम्म जिल्लामा ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । जोनसन एन्ड जोनसन ९एकपटक मात्रै लगाए हुने० समेत गरी पहिलो मात्राको खोप ६८ हजार ६४३ जनाले लगाएका थिए । जिल्लामा १८ वर्षमाथिको लक्षित जनसङ्ख्याको ९४ प्रतिशतले पहिलो मात्रा र ८० प्रतिशतले पहिलो र दोस्रो दुवै गरी पूर्ण मात्राको खोप लगाएको उहाँले बताउनुभयो । पहिलो मात्रा लगाएर दोस्रो नलगाउने १४ प्रतिशत छन् । जिल्लामा १८ वर्षमाथिका लक्षित जनसङ्ख्या ७२ हजार ९७३ रहेकामा पहिलो मात्रा लगाएर दोस्रो नलगाउने र दुवै मात्रा नलगाउनेहरु समेत रहेकाले उनीहरुलाई तत्काल स्वास्थ्य संस्थाहरुको सम्पर्कमा आएर खोप लगाउने अनुरोध गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई समेत खोप अभियान सञ्चालन भएको छ । जिल्लामा हालसम्म ११ हजार २७८ जना बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय प्रमुख लम्सालले जानकारी दिए। उनका अनुसार, उक्त उमेर समूहका १२ हजार ५४७ जना लक्षित जनसङ्ख्या रहे पनि ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने उनीहरुलाई आगामी माघ दोस्रो साता दोस्रो मात्राको खाप लगाउने तयारी गरिएको छ । उनले जिल्लामा खोप पर्याप्त रहेकाले छुटेका लक्षित समूहका नागरिकहरुलाई खोपको पहुँचमा ल्याउन स्थानीय तहहरुले पहल गर्नुपर्ने बताए । १८ वर्ष माथिका लक्षित जनसङ्ख्यामध्ये अन्नपूर्णका गाउँपालिकामा ९५, रघुगङ्गामा ६०, धवलागिरिमा ७७, मालिकामा ७६, मङ्गलामा ७५ र बेनी नगरपालिकामा ८७ प्रतिशतले पहिलो र दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बागमतीका मुख्यमन्त्री पाण्डेका अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति गठन बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ प्राविधिक कर्मचारीको सेवाअवधि ६ महिना थप गरेको छ । अघिल्लो वर्ष कोभिड–१९ महामारी चर्किएको बेला ४७९ प्राविधिक कर्मचारी राखिएकामा उनीहरुको म्याद यही पुस मसान्तसम्म मात्र सकिँदै थियो । उनीहरुको करार अवधि थप गर्ने निर्णय भएको मन्त्री खनालले जानकारी दिए । बैठकले प्रदेशमा दर्ता भएका एफएम रेडियो तथा टेलिभिजनलाई कोभिड महामारीले पारेको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले नवीकरण शुल्क पूरै मिनाहा गर्ने र दुई प्रतिशत कर लिँदै आएकामा ५० प्रतिशत छुट गरी अब एक प्रतिशतमात्र कर तिरे पुग्ने व्यवस्था गरेको छ । माघ मसान्तसम्म कर बुझाउन सकिने व्यवस्था गरिएको छ । यसैगरी चितवनको भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ । सो कार्यालय स्थापना गर्न आवश्यक जग्गा प्राप्तिका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री खनालले बताए।