सोसल मिडिया
Contact Us
युनिकोड
काबुल (अफगानिस्तान), ३० पुस । अफगानिस्तानका करिब आधा कारखानाले गत वर्षको अगस्टमा तालिबान शासन स्थापना भएपछि देशमा व्याप्त आर्थिक सङ्कटका कारण आफ्नो नियमित सेवा अवरूद्ध भएको रिपोर्ट सार्वजनिक भएको छ । ‘चेम्बर अफ इन्डस्ट्री एन्ड माइन’लाई उद्धृत गर्दै टोलो न्युजले लेखेको छ, यी कारखानाहरूले बैंकिङ समस्या र कच्चा पदार्थको अभावका साथै बजारको माग घटेका कारण काम गर्न बन्द गरेका हुन् । चेम्बरका अधिकारी मोहम्मद करीम अजीमीले भने, “बजार, बैंकिङ समस्या र बिजुलीको समस्यामा कम मागका कारण ४०–५० प्रतिशत गतिविधि रोकिएको छ ।” कारखानाका केही मालिकहरूले आफ्नो व्यावसायिक गतिविधि सञ्चालन गर्न बिजुलीको अभावमा आफ्नो चिन्ता व्यक्त गरेका छन् । बिजुलीको आवश्यकताका लागि अफगानिस्तान ज्यादातर मध्य एसियाली देशहरूमा निर्भर हुन्छ । हालै उज्बेकिस्तानले अफगानिस्तानमा बिजुली घटाएको छ र देशका अधिकारीहरूले मार्जन पावर स्टेशनमा उत्पन्न भएको प्राविधिक समस्याले गर्दा यो समस्या उत्पन्न भएको हो । अफगानिस्तानले वित्तीय समस्यासँगै कठोर मानवीय सङ्कट पार गरिरहेको हुनाले थुप्रै विकास तथा निर्माण परियोजनाहरू रोकिएका छन् । यसैबीच, तालिबानले अमेरिकी बहिर्गमनपछि आर्थिक सङ्कटग्रस्त देशमा मानवीय सङ्कटको चिन्ताका बीचमा विदेशी सहायताबिना ‘आगामी वित्तीय वर्ष १४०१’ का लागि पहिलो वार्षिक बजेट पारित गरेको छ । मङ्गलबारको बैठकमा अफगानिस्तानको इस्लामिक इमिरेट्सले चालु वर्षको अन्तिम साताको बजेटको मूल्याङ्कन गर्नुका साथै वित्तीय वर्षको अवधिमा भएका परिवर्तनबारे छलफल गरेको खामा प्रेसले जनाएको छ ।– रासस/एएनआई