कोभिड १९ रोकथामका लागि सुर्खेत प्रशासनद्वारा १२ बुँदे आदेश

शनिबार, माघ १, २०७८

कर्णाली, १ माघ । कोभिड–१९ को सङ्क्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज राति १२ बजेदेखि लागू हुने गरी १२ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, गृह मन्त्रालयको निर्णय, सङ्क्रामक रोग ऐन र स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गरेका हुन् । 
प्रजिअ रिजालद्वारा जारी आदेशमा सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक, सामाजिक प्रकृतिका कार्यक्रम नगर्ने÷नगराउने, २५ जना नबढ्ने उपस्थितिमा गतिविधि सञ्चालन गर्दा अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, अत्यावश्यक कार्यक्रमका सम्बन्धमा स्थानीय प्रशासनको अनुमति लिने उल्लेख छ । साथै औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, सहज आपूर्तिमा अवरोध गर्ने उपर कानूनबमोजिम कारबाही गरिने उल्लेख छ ।
सुर्खेत जिल्लास्थित शिक्षण संस्था माघ १५ गतेसम्म बन्द गर्ने, माघ ७ गतेसम्म सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने, विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिनेछ । कोभिड–१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित एवं आकस्मिक अनुगमन गर्ने र अवज्ञा गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने जनाइएको छ ।

कोभिड–१९ बढेपछि पाँच बुँदे आदेश 
कालीकोट जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि पाँच बुँदे आदेश जारी गरेको छ । कोभिड–१९ को बढ्दो सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र्र (सिसिएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णयबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी जारी गरिएको आदेशमा सार्वजनिकस्थलमा २५ भन्दाबढी उपस्थित हुने गरी राजनीतिक तथा प्रशासनिक, सामाजिक कार्यक्रम, भेला, मेला वा महोत्सव आयोजना नगर्न भनिएको छ ।
अत्यावश्यक र पहिल्यै तय भइसकेका कार्यक्रमका हकमा स्थानीय प्रशासनको अनुमति लिएर कोभिड–१९ को स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अपनाएर गर्न पाइने भएको छ ।
सार्वजनिक स्थान(कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, पार्क आदि)मा प्रवेश गर्दा अनिवार्यरूपमा कोभिड–१९ विरुद्ध खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्न र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउनका लागि निर्देशन दिइएको छ  । 
यही माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिने, सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, यात्रु प्रवेश गर्ने ढोकामा सेनिटाइजर राखेर प्रयोगको व्यवस्था मिलाउनुपर्ने जनाइएको छ ।
घर बाहिर वा सार्वजनिकस्थलमा निस्कँदा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, समय समयमा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नुपर्नेजस्ता कुरा  जारी आदेशमा उल्लेख छ । 
जिल्लामा कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएकाले यस्तो आदेश जारी गर्नुपरेको प्रजिअ रामहरि शर्माले बताए ।

 

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  २१:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार