सोसल मिडिया
Contact Us
युनिकोड
सिन्धुपाल्चोक, १ माघ । सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमित हुनेहरूको सङ्ख्या दैनिक बढ्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबारमात्र जिल्लाभर पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका चार पुरुष र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको हो । बिहीबार पाँच महिला र चार पुरुष गरी नौ जनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमण बढेपछि जिल्ला कोभिड व्यवस्थापन समितिले बैठक बसी एकै स्थानमा एकैपटक २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको छ । सङ्क्रमणको सम्भावनालाई मध्यनजर गर्दै विद्यालय सञ्चालन र पठनपाठनका लागि यस अगाडि शिक्षा मन्त्रालयबाट जारी सूचनाबमोजिम गर्न गराउन सबै स्थानीय तहलाई निर्देशन पनि दिएको छ । बैठकले सङ्क्रमण वृद्धिदर उच्च रहेको निष्कर्ष निकाल्दै जिल्लावासीमा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्क प्रयोग गर्न तथा बाह्य सम्पर्कमा आएपछि नियमित हात धुने गर्न आह्वान पनि गरेको छ । समुदायका जोखिम क्षेत्र पहिचान गरी एन्टिजेन किटबाट परीक्षण गर्ने, परीक्षणको दायरा बढाउने, पहिचान भएका कोभिड–१९ का बिरामीको उचित व्यवस्थापन गर्दै जाने, खोप लगाउन छुटेका व्यक्तिलाई कोभिड–१९ विरुद्वको खोप लगाउन प्रोत्साहन गर्ने, घरमै आइसोलेसनमा रहेका व्यक्तिको निगरानी बढाउने, सार्वजनिक सवारी साधनबाट जिल्ला प्रवेश गर्ने नाकामा यात्रुले मास्क लगाए नलगाएको जाँच गरी मास्क लगाउन अनिवार्य गराउने, स्थानीय तहसँग समन्वय गरी सहायता कक्ष सञ्चालन गर्ने र स्वास्थ्य केन्द्र तथा आइसोलेसन सेन्टरमा आवश्यक पूर्वतयारीको व्यवस्था गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
ओमिक्रोन फैलिएपछि जिल्ला प्रशासन मनाङद्वारा सतर्कता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालय मनाङले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको न्यूनीकरण तथा नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले सूचना जारी गरी कोभिड–१९को नयाँ भेरियन्टको बढ्दो सङ्क्रमणको रोकथाम तथा नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसिसी)को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी सकर्तकता अपनाउन आग्रह गरेका छन् । कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर मात्र कार्य सञ्चालन गर्न÷गराउन अनुरोध गरिएको छ । त्यस्तै सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुनेगरी प्रशासनिक तथा सामाजिक एवं यस्ता प्रकृतिका कार्यक्रम नगर्ने÷नगराउने तथा अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र स्वास्थ्य मापदण्डको पालना गरी गर्ने÷गराउने व्यवस्था मिलाउन प्रशासनले आदेश जारी गरेको छ । त्यसैगरी २५ जनाभन्दा बढी मानिसको उपस्थित हुनेगरी कुनै पनि किसिमको मेला, भेला एवं सामाजिक कार्य गर्न पनि प्रशासनले रोक लगाएको सूचनामा उल्लेख छ । जिल्लास्थित सबै सरकारी, सार्वजनिक, गैरसरकारी, बैंक तथा वित्तीय संस्थाले भिडभाड नहुने गरी आलोपालो वा टोकन प्रणालीबाट सेवा प्रवाह गर्न अनुरोध गरिएको छ । सार्वजनिक स्थान (कार्यालय, होटल, रेष्टुरेन्ट, हवाई यात्रा पार्क आदी) मा यही माघ ७ देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउनुपर्ने प्रशासनको सूचनामा उल्लेख छ । त्यसैगरी फागुन मसान्तसम्म जाडो बिदाका कारण विद्यालयमा जाडो बिदा रहनेछन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा शिक्षा, विज्ञान तथा मन्त्रालयको सूचनाबमोजिम माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्ने÷नगराउने तथा पूर्वनिर्धारित परीक्षा स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्नबाहेक कक्षा बन्द रहने जारी सूचनामा उल्लेख छ । त्यसैगरी सार्वजनिक सवारीसाधन स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने तथा सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउने, चालक र सहचालकले अनिवार्य मास्क र सवारी साधन दैनिकरूपमा स्यानिटाइज गर्नुपर्ने एवं खोप कार्यक्रमलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुने गरी खोप अभियानलाई सबै स्थानीय तहले तीव्रता दिनुपर्ने सूचनामा भनिएको छ । कोभिड–१९ को सम्भावित तेस्रो लहरबाट जोगिन उपयुक्त स्वास्थ्य सतर्कता अपनाउने यससम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन हुने निर्णय प्रशासनले जनाएको छ । अनुगमनका क्रममा यस आदेशको अवज्ञा भएको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारबाही हुने स्थानीय प्रशासनले सबैमा जानकारी गराएको छ ।–रासस