सात महिनामा आठ खर्बको आयात

शुक्रबार, फागुन ७, २०७७
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ । विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो सात महिनामा आठ खर्ब बढीको आयात भएको छ । विभागले सार्वजनिक गरेको सात महिनाको (साउनदेखि माघ मसान्तसम्म) तथ्यांकअनुसार आठ खर्ब तीन अर्ब ६४ करोड रुपैयाँ बढीको आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव शून्य एक प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा  आठ खर्ब तीन अर्ब रुपैयाँ बढीको आयात भएको थियो । यसैगरी सात महिनाको अवधिमा ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अबधिको तुलनामा ७.६१ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा ६४ अर्ब  ९७ करोड १२ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्यांकअनुसार यो वर्ष व्यापार घाटामा शून्य दशमलव ६६ प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ र निर्यातको हिस्सा आठ प्रतिशत छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५७ प्रतिशतले घटेको छ । विभागको तथ्यांकअनुसार सात महिनामा आठ खर्ब ७३ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापारबाट नेपालले सात खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ घाटा बेहोरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ५.८० प्रतिशतले गिरावट हो । गत माघमा मात्रै गत आव भन्दा ३१ प्रतिशत बढीको वस्तु आयात भएको छ । गत वर्षको माघमा एक खर्ब आठ अर्ब ९० करोड रुपैयाँको आयात भएकामा यो माघमा एक खर्ब ४२ अर्ब ३९ करोड रुपैयाँको आयात भएको हो ।
 

कुन महिना कति आयात
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा ८५ अर्ब ८० करोड, भदौमा ९३ अर्ब चार करोड र असोजमा एक खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको विदेशी वस्तुका आयात भएको थियो । यसैगरी कात्तिकमा एक खर्ब १० अर्ब २२ करोड, मङ्सिर महिनामा एक खर्ब २३ अर्ब एक करोड, पुसमा एक खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । हालसम्मकै धेरै माघ महिनामा एक खर्ब ४२ अर्ब ३९ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ । सात महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । सात महिनामा ३९ अर्ब ७० करोड बढीको डिजेल आयात भएको छ । गत पुसमा ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको थियो ।  

आन्तरिक राजश्व विभागका प्रमुखमा आचार्य
आन्तरिक राजश्व विभागका महानिर्देशकमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयअन्तर्गतको वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख रहेका सहसचिव आचार्यलाई विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।आचार्यले राजश्व विभागको महानिर्देशकका रुपमा नियुक्ति पाएको जानकारी दिए । गत माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको गण्डकी प्रदेशमा सरुवा भएपछि सो पद रिक्त थियो । एक महिनादेखि खाली रहेको उक्त स्थानमा आचार्यलाई जिम्मेवारी दिइएको हो ।–रासस
 

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १९:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार