सोसल मिडिया
Contact Us
युनिकोड
केटू–१४१ बी नामक ग्रहमा पानीको होइन, चट्टानको वर्षा हुन्छ । त्यहाँका समुद्रहरू ज्वालामुखीबाट निस्किने लाभाबाट बनेका छन् र ती १०० किलोमिटर गहिरा छन् । अनि त्यहाँ चल्ने हुरी ध्वनिको गतिभन्दा चार गुना बढी वेगले चल्छन् । ‘यो अत्यन्तै गजबको ग्रह छ जहाँ मौसम चरम खालका छन्, जहाँ खनिजको वर्षा र हिमपात हुन्छ अनि जहाँ ध्वनिभन्दा धेरै वेगमा हुरी चल्छ’, खगोलशास्त्री तथा प्रमुख लेखक ट्यु ग्याङ् नगुयेनले बताए । ‘यो बस्नलाई उचित ठाउँ होइन तर अध्ययन गर्नको निम्ति गजबको ग्रह हो। हामीले पृथ्वीमा त्यतिकै ग्रहण गरिरहेका कुराहरूको तुलना गर्दा त यो ग्रह बिछट्टको छ !’ उनका सह–अन्वेषक प्राध्यापक निकोलस कोवनले भने । भारत तथा क्यानडाका खगोलशास्त्रीहरूसँग मिलेर उनीहरूले केटू–१४१ बी ग्रहका पछिल्ला खोजबारे नयाँ लेख प्रकाशित गरेका छन् ।केटू–१४१ बी लाई अर्को नाम इपिक २४६३९३४७४.०१ बाट पनि चिनिन्छ । यो ग्रह २०२ प्रकाश वर्ष टाढा रहेको एक्वारियस तारामण्डलमा पर्छ । यो अग्निज्वालायुक्त र बस्न अयोग्य संसारमा समय पनि चाँडै व्यतीत हुन्छः केटू–१४१बी ग्रहले उसको तारालाई सात घण्टामै एक फन्को लगाइसक्छ । यसको तारालाई खगोलशास्त्रीहरूले ‘अरेन्ज ड्वार्फ’ प्रकृतिको भएको बताउँछन्–जुन हाम्रो सूर्यभन्दा निकै चिसो छ । मधुरो पनि छ जसले गर्दा पृथ्वीबाट देख्न पनि सकिँदैन । ‘यो ज्वालामुखीको लाभाको ग्रह हो’, भारतको विज्ञान शिक्षा एवम् अनुसन्धान इन्स्टिच्यूट (कोलकाता), योर्क विश्वविद्यालय (टोरन्टो, क्यानडा) र मक्गिल विश्वविद्यालय (मन्ट्रीओल, क्यानडा) का वैज्ञानिकहरूको भनाइ छ । साथै यसलाई ‘सुपर–अर्थ’ पनि भनिएको छ किनकि आकारमा यो हाम्रो पृथ्वीजत्रै भए पनि यसको पिण्ड पृथ्वीको भन्दा पाँचगुना धेरै छ । अर्थात् केटू–१४१ बी को गुरुत्वाकर्षण शक्ति पृथ्वीको भन्दा पाँचगुना शक्तिशाली छ । केटू–१४१बी लाई सबभन्दा पहिले सन् २०१८ मा केप्लर स्पेस टेलिस्कोपको ‘केटु मिशन’, ले पत्ता लगाएको भए पनि अहिले आएर अनुसन्धानकर्ताहरूले यो ग्रहको विचित्र गुणहरू थाहा पाउँदैछन् । म्याग्मा र चिसा चट्टानको भूखण्डको कल्पना गर्नुस्, केटू–१४१बी को सतह लगभग त्यस्तै दखिन्छ । केटू–१४१बी ग्रहले केही घण्टामै आफ्नो ताराको परिक्रमा गरिसक्ने भएपनि यो ग्रह पृथ्वीजस्तै आफ्नै अक्षमा पनि भने घुम्दैन । ‘जसको अर्थ हुन्छः यो ग्रहको दुईतिहाइ भूभाग सधैँ प्रकाशतर्फ फर्किएको हुन्छ र जहिल्यै पनि दिनमात्र हुन्छ । त्यो भूभागमा तापक्रम ३,००० डिग्री सेल्सीअससम्म पुग्छ’, प्राध्यापक कोवनले बताए । अनि विपरीत भूभागमा भने सधैँ रात हुन्छ र तापक्रम माइनस २०० डिग्रीमा झर्छ । तापक्रममा यति धेरै फरक हुनाले त्यहाँको मौसम पनि चरम प्रकारको हुन्छ... ‘अनि खगोलशास्त्रीहरूले भनेजस्तै ‘चट्टानको वर्षा’ हुन्छ । पृथ्वीको जलचक्रलाई एक पटक स्मरण गरौँ–सतहबाट पानी बाफिएर उड्छ, बादलमा परिणत हुन्छ र वर्षाका रूपमा झरेर ताल तथा समुद्रमा पानी घट्न दिँदैन । यही प्रक्रिया चलिरन्छ । ‘तर केटू–१४१बी ग्रहमा भने यही चक्र पानीको होइन चट्टानको चलिरहन्छ !’ प्राध्यापक कोवनले भने । ‘तपाइँले के बुझ्नुप¥यो भने यो ग्रहमा सबैथोक चट्टानले बनेको छ’ उनले भने । प्रकाश पर्ने ग्रहको भागमा ‘तापक्रम यति धेरै हुन्छ कि चट्टान पग्लिएर अनि वाष्पीकृत भएर पातलो वातावरणमा उड्छ । एकदमै अनौठो !’ ‘तर प्रकाश नपर्ने अँध्यारो भागमा भने वातावरण नै छैन । एकदमै चिसो र जमेको छ’, उनले भने । ग्रहको उज्यालो (तातोे) र अँध्यारो (चिसोे) भागबीच तापक्रम र चापमा यस्तो धेरै फरकका कारण त्यहाँ ध्वनिभन्दा धेरै वेगमा हुरी चल्छ–झन्डै ५,००० किलोमिटर प्रतिघण्टा वेगमा । त्यस्तो हुरीले ‘वाष्पीकृत चट्टानका कण उडाएर अँध्यारो भूभागमा पु¥याइदिन्छ जहाँ चिसोका कारण ती चट्टान ससाना कणमा जम्छन्’, प्राध्यापक कोवनले भने । ‘त्यसबाट चट्टानको वर्षा वा चट्टानको हिमपात हुन्छ जो तल म्याग्मा समुद्रमा खस्छन्’, उनले थपे । ‘केटू–१४१बी ग्रहबारे यो अध्ययनले पहिलो चोटि मौसमको अनुमान गरेको छ’, नगुयेनले भने । ‘सयौँ प्रकाश वर्ष टाढाबाट अत्याधुनिक टेलिस्कोपको प्रयोग गरेर’, यसो गर्न सम्भव भएको बारे उनले उत्साह प्रकट गरे । यो सबै रमाइलो छ तर हामी पृथ्वीवासीलाई त्यसको के अर्थ ? ‘केटू–१४१बी ग्रहको अध्ययनले हामीलाई पृथ्वीको विगत बुझ्न सहयोग गर्छ किनकि कुनै समय पृथ्वीमा पनि म्याग्मा (उच्च तापले पग्लिएको अवस्थामा रहेको चट्टान) नै म्याग्मा थियो’, नगुयेनले भने । ‘लाभा ग्रहले ग्रहहरूको विकास क्रमबारे दुर्लभ तस्बिर देखाउँछ’, प्राध्यापक कोवनले थपे, ‘पृथ्वीलगायत सबै चट्टानी ग्रहहरूको विकास यस्तै अवस्थाबाट सुरु भए र पछि तीव्र गतिमा चिसिए ।’ त्यसैले केटू–१४१बी बाट जानकारी हासिल गरेर हामीले पृथ्वीकै उत्पत्ति र विकासबारे थप थाहा पाउन सक्छौँ । त्यसबाहेक अर्को फाइदा पनि छ । ‘यो अध्ययनले भविष्यमा अनगिन्ती लाभा ग्रहहरूको अध्ययन गर्न आधार खडा गर्न सक्छ । अनि यो सौर्यमण्डलभन्दा बाहिर रहेका पृथ्वीजस्तै र बस्न योग्य संसार खोज्न पनि सघाउनेछ’, नगुयेनले भने । ‘यी लाभा ग्रह अध्ययन गर्नका निम्ति असाध्यै रुचिकर छन् । धेरै अनौठा कुरा थाहा पाइन्छ !’, प्राध्यापक कोवनले थपे । यदि तपाइँसँग दशौँ अर्ब डलर पर्ने महँगा टेलिस्कोपको पहुँच छैन भने पनि आफ्नै कुर्सीमा आरामसँग बसेर नासा क्याटलग मार्फत् केटू–१४१बी ग्रह र यस वरपरको वैज्ञानिक रूपमा तथ्यपरक मोडलको अध्ययन गर्न सक्नुहुन्छ ।–बीबीसी