७२ प्रतिशत वयस्क भारतीयलाई पूर्ण खोप

बिहीबार, माघ ६, २०७८

भारतका ७२ प्रतिशत वयस्कलाई पूर्ण खोप

नयाँ दिल्ली, ६ माघ । भारतका कूल वयस्कहरूमध्ये ७२ प्रतिशतले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् । भारतको केन्द्रीय सरकारले बिहीबार दिएको जानकारीअनुसार १५ देखि १८ वर्षसम्मका भने ५२ प्रतिशतले पहिलो खोप लगाएका छन् । 
सो उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई हालै मात्र खोप लगाउन थालिएकाले उनीहरूले एउटा मात्रै खोप लगाउन पाएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका सचिव राजेश भुषणले पत्रकार सम्मेलनमा बोल्ने क्रममा खोप अभियानलाई सरकारले तीव्रता र उच्च प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए । 
उनले पछिल्लो एक दिनमा तीन लाख १७ हजार ५३२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण पनि सार्वजनिक गर्नुभयो । सोही अवधिमा कोरोनाकै कारण अरू ३८० जनाको मृत्यु भएको पनि उनको भनाइ छ । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्या तीव्र रूपमा बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक थपिँदै गएपछि सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि बढेको छ । स्वास्थ्य सचिव भुषणका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १९ लाख २४ हजार ५१ रहेको छ । 

भारतमा एकैदिनमा थप तीन लाख १७ हजार सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख १७ हजार ५३२ जना सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेको अधिकारीहरुले जनाएका छन् । गत २४ घण्टामा परिक्षण गरिएका मध्ये १६.४१ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १९ लाख २४ हजार ५१ रहेको छ । 
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट दुई लाख २३ हजार ९९० जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५८ लाख ७ हजार २९ पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३.६९ प्रतिशत रहेको जनाइएको छ । पछिल्लो एक दिनमा ४९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८७ हजार ६९३ रहेको छ ।
कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ९३ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५९ करोड ६७ लाख भन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ ।– रासस/सिन्ह्वा

 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार