अष्ट्रियामा सबैलाई खोप अनिवार्य 

बिहीबार, माघ ६, २०७८

भियना, ६ माघ । अष्ट्रियामा कोरोनाभाइरसविरुद्धको खोप लगाउन मिल्ने समूहका सबैलाई खोप अनिवार्य गर्ने कानुन बन्न लागेको छ । 
आगामी महिनादेखि लागू हुनेगरी बिहीबार यस्तो कानुन संसद्बाट पारित गर्न लागिएको अधिकारीहरूले जनाएका छन् । योसँगै खोप लगाउन मिल्ने समूहलाई खोप अनिवार्य गर्ने पहिलो युरोपेली देश अष्ट्रिया नै बन्ने भएको छ । 
कोरोनाभाइरसविरुद्ध लड्नका लागि सबैभन्दा प्रभावकारी र भरपर्दो उपाय नै खोप भएकाले त्यसलाई अनिवार्य गर्नुपर्ने पक्षमा सबै पार्टीका सांसदहरू रहेको दाबी गरिएको छ । 
भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या दिनप्रति दिन बढ्दै गएकाले संसद्ले पनि यस कानुनलाई पारित गर्ने अपेक्षा गरिएको छ । 
तर कतिपयले भने अनिवार्य खोपको व्यवस्था गर्नु व्यक्तिगत स्वतन्त्रता विपरीत हुने भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । 
पछिल्लो सरकारी विवरणअनुसार अष्ट्रियाका खोप लगाउन योग्य कूल जनसङ्ख्यामध्ये ७२ प्रतिशतले कोरोनाभाइरसविरुद्धको पूरै खोप लगाइसकेका छन् ।
कानुन पारित भएपछि निश्चित समयसम्म सरकारले स्वेच्छाले खोप लगाउन आह्वान गर्ने र मध्य मार्चपछि खोपविरूद्ध अफवाह फैलाउनेलाई प्रतिव्यक्ति चार हजार ८४ अमेरिकी डलर बराबरको जरिवाना गरिने पनि बताइएको छ ।– रासस/एएफपी 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार