काठमाडौँ उपत्यकामा आज रातिदेखि जोरबिजोर प्रणाली

बिहीबार, माघ ६, २०७८


 काठमाडौँ, ६ माघ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले भोलि रातिदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । 
काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएको काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए ।
 त्यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा उल्लेख छ । 
चितवन प्रशासनमा अत्यावश्यक बाहेकका सेवा वन्द

जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । शुक्रबारदेखि लागू हुने गरी शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवा रोकिने जनाएको छ । 
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी जरुरी सूचनामा  कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भई उपचाररत तथा आइसोलेशनमा रहेकाले सेवा स्थगन गरिएको उल्लेख गरिएको छ । 
सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले तीन कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र अन्य केहीको परिवारका सदस्यहरुमा कोभिड–१९ को सङ्क्रमण देखिएकाले उनीहरु आइसोलेशनमा रहेको जानकारी दिए । नागरिकता जारी गर्ने, राहदानी, संस्था नवीकरणलगायत नियमित काम माघ १४ गतेसम्म रोकिने भएका छन् ।–रासस
 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २२:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार