बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता

शनिबार, फागुन ८, २०७७

काठमाडौं । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि संकेत चिह्न निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक होटलको स्पष्ट मापदण्ड थिएन । विभागले सबैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलका सम्बन्धमा संकत चिह्नको रुपमा तारा चिह्न निर्धारण गरेको छ । होटल एशोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले तारे होटलसम्बन्धी नयाँ मापदण्डले होटलको स्तरीकरणका साथै होटलको सेवा सहज ढङ्गले प्राप्त गर्न ग्राहकलाई पनि सहज हुने जानकारी दिए । उनले भने, ‘यो संसारभरको अभ्यास पनि हो । सरकारी मापदण्ड पालना गराउन सजिलो हुन्छ । होटलको स्तरीकरणका साथै सेवा सुदृढिकरणमासमेत सहयोग पुग्छ । हाम्रै (हान) को पहलमा विभागले होटलको स्तर चिह्न प्रदान गरेको हो ।’ विभागका अनुसार सबै तहका होटल तथा रिर्साेटले आफ्नो पहिचान दिने संकेत चिह्न अनुसारको साइनबोर्ड होटलको गेटमै राख्नु पर्नेछ । यसबाहेक हानसँग सम्बन्धित संघ संस्थामध्ये आफु कुन संघमा आवद्ध भएको हो, आवद्धता रहेको संघको समेत चिह्न बोर्डमै राख्नुपर्ने गरी विभागबाट निर्णय भएको छ ।  वर्गीकरण अनुसार एकतारेदेखि पाँचतारेसम्मका होटलको संकेत चिह्न क्रमशः एकतारादेखि पाँच तारासम्म हुनेछ भने पाँचतारा डिलक्स होटलका लागि पाँचतारा र डिलक्क शब्द राख्नु पर्नेछ । त्यस्तै साधारण हेरिटेज बुटिक होटलको न्यूनतम स्तर तीन तारे हुनेछ । जसको संकेत चिह्नमा ‘तीन तारा र स्टाण्डर्ड हेरिटेज’ भन्ने शब्द राख्नुपर्नेछ । डिलक्स हेरिटेज बुटिक होटलका लागि ‘चारतारा र डिलक्ज हेरिटेज बुटिक’ शब्दले संकेत गरिने भएको छ ।  लक्जरी हेरिटेज बुटिक होेटलका लागि ‘पाँचतारा र लक्जरी हेरिटेज बुटिक’ शब्द राखिने भएको छ । रिर्साेटतर्फ साधारण रिर्साेटले तीन तारे स्तरको मान्यता पाएको छ । यस्तो रिर्साेटले तीनतारा र स्टाण्डर्ड रिर्साेट शब्द लेखेको संकेत चिह्न पाएको छ । डिलक्स रिर्साेटले चारतारा र लक्जरी रिर्साेटले पाँचतारा र लक्जरी रिर्साेट शब्द राखेर आफ्नो रिर्साेटको पहिचान जनाउन सक्ने गरी निर्णय भएको छ । पर्यटक स्तरका होटेलको संकेत चिह्न ‘टीएस’ हुनेछ । साविकमा पर्यटन विभाग र मातहतका कार्यालयबाट पर्यटक स्तरको होटेलको स्तर वर्गीकरण भएका र अहिले प्रदेश सरकारको निकायबाट यस स्तरको होटेलमा वर्गिकरण भएका सबै होटलले गोलाकार भित्र रातो रङगमा (टीएस्) लेखेको चिह्नलाई होटलको संकेत चिह्नका रुपमा प्रयोग गर्नुपर्ने विभागले जनाएको छ । मोटलका लागि विभागले ‘एम’ सङकेत चिह्न दिएको छ । गोलाकार रेखा भित्र रातो रङगमा ‘एम’ लेखिएको चिह्न निर्धारण गरिएको छ । साविकमा पर्यटन विभाग र मातहतका कार्यालयमा दर्ता भएका र अहिले प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका मोटलले यो चिह्न प्रयोग गर्नुपर्नेछ । ‘पर्यटक इन’ स्तरमा वर्गीकरण भई सञ्चालनमा रहेका होटलले भने ‘आइ’ संकेत चिह्न प्रयोग गर्नुपर्नेछ । बेड एण्ड ब्रेक फास्टका रुपमा दर्ता भएका होटेलहरुको संकेत चिह्न गोलाकार घेरा भित्र रातो रङ्गमा ‘बीएण्डबी’ लेखिएको चिह्नलाई संकेत चिह्न रुपमा निर्धारण गरिएको छ । सबै स्तरका रिर्साेट, तारास्तरका होटेल, सबै स्तरका बुटिक होटेल र रिर्साेटले प्रवेशद्वारमा सबैले देख्ने गरी साइनबोर्ड राख्नु पर्ने विभागले जनाएको छ । साइनबोर्ड भने सम्बन्धित स्थानीय तहले तोकेको आकार र बनोट अनुसार छनोट गर्न सकिनेछ । यसरी रहने साइनबोर्डको समेत मापदण्ड तोकिएको छ । साइनबोर्डको माथिल्लो भागमा नेपालको रङ्गीन निशाना छाप राख्नु पर्नेभएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार