सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १० माघ । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २१ हजार २०१ परीक्षण गर्दा १० हजार ३१९ जनामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ हजार ५५० पुगेको छ । पछिल्लो समय दुई हजार ५४० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या आठ लाख २४ हजार २३९ पुगेको छ । यो दर ८९।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
चार जनाको मृत्यु
विगत २४ घण्टामा चार जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६५९ जनाको सङ्क्रमणका कारणले मृत्यु भइसकेको छ । यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, गोरखा, तनहुँ, स्याङजा, बागलुङ, दाङ, पाल्पा र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमण दर १७।९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा ८० हजार ७७९, संस्थागत आइसोलेशनमा एक हजार ७७१, सघन उपचार कक्ष २३८ र भेन्टिलेटरमा ४३ जनाको उपचार हुँदैछ ।
एक लाख बढीले लगाए खोप
विगत २४ घण्टामा आज एक लाख १९ हजार ३७१ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ८९ हजार ४२५ जना र पूर्ण मात्रा एक करोड २९ लाख ६६ हजार ३६२ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज एक लाख ६८ हजार ९६९ मात्रा लगाइएको छ ।
चितवनमा पाँच सय ३७ स्वास्थ्यकर्मी सङ्क्रमित जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना चिकित्सक–स्वास्थ्यकर्मी कोभिड–१९ सङ्क्रमित भएका छन् । सरकारी, निजी अस्पताल, पालिकाकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक–स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन् । हालसम्म सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले बताए । चितवन मेडिकल कलेजमा ११४ जना, भरतपुर अस्पतालमा ८३ जना, अन्य निजी अस्पतालमा ६२ जना, कलेज अफ मेडिकल साइन्सेसमा ३४ जनामा सङ्क्रमित पुष्टि भएको तिवारीले जानकारी दिए । पालिकाको स्वास्थ्य शाखाअन्तर्गत कार्यरत भरतपुर महानगरमा २८ जना, रत्ननगर नगरपालिकामा १५ जना, राप्ती नगरपालिकामा १८ जना, खैरहनी नगरपालिकामा १८ जना, कालिका नगरपालिकामा ८ जना र ईच्छाकामना गाउँपालिकामामा ९ जनामा सङ्क्रमण भएको छ । माडी नगरपालिकाको भने हालसम्म विवरण आइनसकेको तिवारीले बताए । स्वास्थ्य कार्यालयमा कार्यरत चार जनामा सङ्क्रमण पुष्टि भएको छ । तिवारीका अनुसार हालसम्म जिल्लामा स्वास्थ्य सेवा बन्द हुने गरी प्रभावित भएको छैन । आलोपालो गरेर स्वास्थ्य सेवा सञ्चालन भइरहेको उहाँको भनाइ छ । आइसोलेशनमा रहेको सात दिनमै काममा फर्किने हुँदा ठूलो समस्या नहुने अपेक्षा गरिएको तिवारीले बताए। हालसम्म भरतपुर अस्पतालले जिओपिडी र नियमित शल्यक्र्रिया सेवालाई स्थगित गरेको छ भने अन्य कुनै स्वास्थ्य संस्थाका नियमित सेवा प्रभावित बनेका छैनन् । सङ्क्रमितको सङ्ख्या धेरै भए पनि अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून रहेका कारण जनशक्तिको अभाव नभएको तिवारी बताउँछन् ।