अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएपछि आकस्मिकबाहेकका सेवा बन्द

सोमबार, माघ १०, २०७८

खाँदबारी, १० माघ । जिल्ला अस्पताल सङ्खुवासभाका आठ स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । आजदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा योगेन्द्रमणि बस्नेतले बताउनुभयो । एन्टिजेन परीक्षण गर्दा जिल्ला अस्पतालका कार्यरत आठ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि माघ १५ गतेसम्म अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको छ । आजदेखि अस्पतालमा आकस्मिक सेवा, प्रसूति सेवा र फिभर क्लिनिक मात्र सञ्चालन हुने उहाँको भनाइ छ । जिल्लामा सञ्चालित कोरोना विरुद्धको खोप अभियान भने यथावत सञ्चालन रहने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्खुवासभामा कोरोनाको तेस्रो लहर फैलिएपछि जिल्लामा सक्रिय सङ्मितको सङ्ख्या १४१ पुगेको छ । हालसम्म ४७ जना निको भएका छन् । 
त्यस्तै जिल्ला कारागार खाँदबारीले कोभिड सङ्क्रमण  जोखिम बढ्दै गएपछि कैदीबन्दी भेटघाटलाई माघ १५ गतेसम्म बन्द गरेको जिल्ला कारागारका जेलर विनोद अधिकारीले बताए । मौसम परिवर्तन र चिसोले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउनुपर्ने स्थानीयवासीको सुझाव छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  २३:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार