पर्यटकका पर्खाइमा आलडाँडा 

मंगलबार, माघ ११, २०७८
मयुर प्लाई
Global Ime Bank

म्याग्दी, ११ माघ । वरपर गुराँसको जंगल । डाँडाको सम्म फाँट । एकान्त वातावरण । पृष्ठभूमिमा लहरै देखिने हिमशृङखला । ग्रामीण बस्ती । बिहान सूर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्यावलोकन गर्न सकिने ।  अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । समुन्द्रि सतहदेखि दुई हजार ६२० मिटर उचाइमा रहेको सो स्थान अ पर्यटकका पर्खाइमा छ । स्थानीय अगुवा भक्तबहादुर पुर्जाले आलडाँडाको सौन्दर्यका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको बताए । “प्रचारप्रसारको कमीले पर्यटक आउन सकेका छैनन् सुनसान छ”, उनले भने, “अन्नपूर्ण गाउँपालिकाको धेरै पर्यटकीय स्थल जाने बिच बाटोमा पर्ने आलडाँडाको प्रर्वद्धन आवश्यक छ ।”  सो स्थानमा ‘हिमालयन भ्यू एण्ड गेष्टहाउस’ समेत सञ्चालन गरेका व्यवसायी पुर्जाका अनुसार हाल बार्षिक दुई सय जनाका हाराहारीमा पाहुना आउने गरेका छन् । आलडाँडाको पृष्ठभूमिमा सिस्ने, गुर्जा, धौलागिरि, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ«्रे र मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । 
हिमाल र पृष्ठभूमिमा देखिने सूर्योदय र सूर्यास्तको मनमोहन दृष्यले मोहित बनाएको हालै आलडाँडाको भ्रमणमा गरेका सुरेन गुरुङले बताए । गुराँसको जङ्गलका साथै बिभिन्न प्रजातिका बनस्पति, जडीबुटी, वन्यजन्तु र पन्छीहरूको पनि अवलोकन गर्न पाइने उनले जानकारी दिए ।  करबाकेली इको र अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने आलडाँडा करबाकेही, राम्चे, नागी, मोहरेडाडा, कालीदह, फुलबारी, पुनहिल, घोडेपानी, प्यारीबाराही र टिकोटको मध्य भागमा पर्छ । एकदेखि अर्को ठाउँमा जाने पर्यटकका लागि आलडाँडा केन्द्र मानिन्छ । म्याग्दी, पर्वत र बागलुङका पहाडका साथै बस्तीको अवलोकन गर्न सकिन्छ । 
राम्चे देखि तीस मिनेट, करबाकेही, फूलबारी र मोहरेडाँडादेखि एक घण्टा, पुनहिलदेखि दुई घण्टा पैदल हिँडेपछि आलडाँडा पुग्न सकिन्छ । राम्चे हुदै आलडाँडा जोड्ने सडक पनि छ । बस्तीदेखि टाढा रहेको आलडाडामा पुग्ने पर्यटकको सुबिधाका लागि राम्चेका भक्तबहादुर पुर्जाले होटल सञ्चालन गरेका छन् ।    
होटलको छानोमा राखिएको जस्तापाताबाहेक अन्य सबै संरचना काठका हुन् । दुई तले भवनमा बीस जना बास बस्न सक्ने दश कोठा छन् । रु पैतिस लाखको लागतमा उहाँले स्थापना गरेको होटलका कोठाबाटै हिमाल, सूर्योदय, सूर्यास्त र जङ्गलको दृश्यावलोकन गर्न सकिन्छ । प्रत्येक रात बास बस्न एक जनालाई करिब रु. एक हजार बजेट आवश्यक पर्ने जनाइएको छ । 
बाँझिएर खेर गएको पाखोबारीमा होटल बनाउन रु. ३७ लाख लगानी गरेका पुर्जा कोभिड पछि पर्यटक आउने आशामा छन् । दश बर्ष साउदीमा रोजगारी गरेर फर्केका पुर्जाले यसअघि राम्चेमा होमस्टे (घरबास) सञ्चालन गरेका छन् । 
स्थानीय जातका कुखुरा, खरायोको मासु, कोदो, फारको रोटी, ढिडो, च्याउको तरकारी, आलुका परिकार होटलका पाहुनाले चाख्न पाउँछन् । परिवारका सदस्यहरूद्वारा सो होटल सञ्चालित छ । –रासस
 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  २१:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार