कोरोना सङ्क्रमित सबै होम आइसोलेसनमा

मंगलबार, माघ ११, २०७८

 कर्णाली, ११ माघ । कोभिड–१९ बाट सङ्क्रमितमध्ये अधिकांश होम आइसोलेसनमा बस्ने गरेको पाइएको छ । कोभिड–१९ को पहिलो र दोस्रो लहरका बेला विभिन्न आइसोलेसन केन्द्र र अस्पताल भरिभराउ भए पनि यसपटक सङ्क्रमित घरमै बसेका छन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दैनिक ४८ प्रतिशत सङ्क्रमित थपिँदै गए पनि अस्पतालमा भर्ना हुनेको सङ्ख्या निकै न्यून रहेको जनाएको छ । प्रदेश अस्पताल सुर्खेतमा हाल १२ जना मात्र कोरोनाका बिरामी छन् । निर्देशनालयका अनुसार सोमबार गरिएको ६० जनाको पिसिआर परीक्षणमा ५१ तथा १७८ जनाको एन्टिजन परीक्षणमा १०४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । सबै सङ्क्रमित होम आइसोलेसनमै रहेको पाइएको छ ।
प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले सङ्क्रमित घरमै रहे पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे निगरानी राख्ने गरिएको बताए । “सङ्क्रमित घरमै बसेर औषधि सेवन तथा स्वास्थ्य परामर्श लिइरहेको पाइएको छ,” उनले भने, “यसपटक कोरोना पोजिटिभ हुनेहरूमा टाउको दुख्ने, आँखा पोल्ने, शरीर दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ, घरमै बसेर निको हुने भएपछि अस्पताल वा आइसोलेसन सेन्टरमा नआएको पाइएको छ ।”
जिल्ला प्रहरी कार्यालयले मास्कविना हिँड्डुल गर्नेबाट प्रतिव्यक्ति रु १०० जरिवाना असुल गर्ने गरेको छ । आइतबारदेखि मास्क जरिवानाबापत रु ६ हजार ६०० सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

म्याग्दीका ४६ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण
यता म्याग्दीमा चिकित्सकसहित ४६ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पताल र अन्य स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी कोरोनाबाट सङ्क्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बेनी अस्पतालका ४१ स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना सङ्क्रमण भएको छ । चार जना आज आइसोलेसन मुक्त भएका छन् । अस्पतालमा कार्यरत सात चिकित्सकमध्ये चारजनामा कोरोना सङ्क्रमण भएको छ । बेनी अस्पतालमा अहिले ३७ जना सक्रिय कोरोना सङ्क्रमित रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।
स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना सङ्क्रमण भएपछि बेनी अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ । सेवा लिन आउने सर्वसाधारणमा अस्पतालबाटै कोरोना सङ्क्रमण फैलनसक्ने भएपछि गत आइतबारदेखि एक साताका लागि ओपिडी सेवा बन्द गरी आकस्मिक सेवाबाट मात्रै उपचार सेवा दिइएको कटुवालले जानकारी दिए ।
अस्पतालको ओपिडी सेवा बन्द भएपछि आकस्मिक कक्षको सेवासँगै फिवर क्लिनिकसमेत सञ्चालन गरेर उपचार जाँच र उपचार गर्ने प्रबन्ध मिलाइएको छ । आगामी शुक्रबारसम्मको अवस्थालाई दृष्टिगत गरी ओपिडी सेवाको निर्णयमा पुग्ने अस्पतालले जनाएको छ ।
बेनी अस्पतालमा म्याग्दीको साथै पर्वतको जलजला गाउँपालिकाबाट समेत सर्वसाधारण उपचारका लागि आउने गरेका छन् । बेनी अस्पतालमा अहिले १२५ जना कार्यरत रहेका छन् । आजसम्म जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २३५ पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  २३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार