२० हजार परीक्षण गर्दा आठ हजार सङ्क्रमित

बुधबार, माघ १२, २०७८

काठमाडौँ, १२ माघ । पछिल्लो २४ घण्टामा आठ हजार ४५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले २० हजार ३५९ परीक्षण गर्दा आठ हजार ४५४ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।  सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ६७ पुगेको छ । पछिल्लो समय चार हजार ४३३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ३१ ७१२  पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ८९।१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पाँच जनाको मृत्यु 
उनले विगत २४ घण्टामा आज पाँच जनाको सङ्क्रमणका कारणले निधन भएको जानकारी दिए । अहिलेसम्म ११ हजार ६७२ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । यस्तै ५०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला १७ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाके, रुपन्देही, दाङ र कैलाली रहेका छन् । 
यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, दोलखा, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमण दर १८ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा ८८ हजार २४८, संस्थागत आइसोलेसनमा एक हजार ८१९, आइसियुमा २५१ र भेन्टिलेटरमा ४८ जनाको उपचार हुँदैछ । 

दुई लाख बढीले खोप लगाए 
विगत २४ घण्टामा आज दुई लाख ५६ हजार ४१६ जनाले खोप लगाएका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज दुई लाख ६४ हजार ८९१ मात्रा लगाइएको छ । 

प्रदेश १ को मोरङमा सबैभन्दा बढी सङ्क्रमण
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा सबैभन्दा बढी मोरङमा २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा झापामा १५६, सुनसरीमा १२०, धनकुटामा ११, उदयपुर र इलाममा छ÷छ, तेह्रथुममा तीन, पाँचथरमा दुई, सङ्खुवासभामा एक र प्रदेश बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पहाडी, मध्यपहाडी तथा हिमालका भन्दा तराईका जिल्लामा अत्यधिक कोरोना सङ्क्रमण देखिएको हो । एक हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र एक हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७६८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
स्थानीय पालिकाअनुसार सबैभन्दा बढी मोरङको विराटनगरमा २३३, बेलबारीमा २०, झापाको बिर्तामोडमा ३९, दमकमा २५, भद्रपुरमा २४, सुनसरीको इटहरीमा ४२ र धरानमा ५९ जनासहित ५५ पालिका सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १२३ महिलासहित २७२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने तीन पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर सात हजार १८५ पुगेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १९:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार