सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १५ माघ । पछिल्ला केही दिनयता नेपालमा कोरोना सङ्क्रमणदर घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शनिबार कूल परीक्षणको करिब ३४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । यसअघि नेपालमा कूल परीक्षणको ५० प्रतिशत बढीमा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका अनुसार आज १४ हजार ५६२ नमूनाको परीक्षण गर्दा चार हजार ९०४ मा सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा पाँच हजार ९२४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोना सङ्क्रमणबाट छ जनाको ज्यान गएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ हजार ३२९ पुगेको छ । हालसम्म कोरोनाबाट ११ हजार ७०३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ५२ लाख नौ हजार ५९६ नमूना परीक्षण गर्दा नौ लाख ४७ हजार ३९२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म आठ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा एक करोड ६५ लाख २७ हजार ७४१ पहिलो डोज, एक करोड ४० लाख १५ हजार ३४२ र तीन लाख ३३ हजार ८३५ मात्र बुस्टर डोज लगाइएको मन्त्रालयले जनाएको छ ।
कास्कीमा मात्रै २२७ सङ्क्रमित थपिए गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना सङ्क्रमित कास्कीमा थपिएका छन् । प्रदेशअन्तर्गत विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन र पिसीआर परीक्षणमा कास्कीमा २२७ सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। उनका अनुसार यस अवधिमा प्रदेशमा कूल ५१६ सङ्क्रमित थपिएकामा तनहुँमा ७१, म्याग्दीमा ४९, स्याङ्जा र बागलुङमा ३९–३९, नवलपरासी पूर्वमा ३८, लम्जुङमा २५, पर्वतमा १५ र गोरखामा १३ जना छन् । यस अवधिमा प्रदेशमा ७०२ जना निको भएका छन् भने होमआइसोलेशनमा छ हजार ९८५ जना रहेको निर्देशनालयले जनाएको छ ।
माघ मसान्तसम्म शैक्षिक संस्था सञ्चालन गर्न नपाइने
यसैबीच कास्की जिल्लामा आगामी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शुक्रबार जारी गर्नुभएको आदेशमा जिल्लामा कोरोना सङ्क्रमणदर ५० प्रतिशतभन्दा माथि रहेको उल्लेख गर्दै विद्यालय, विश्वविद्यालयलगायत शैक्षिक संस्था भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने भनिएको छ । त्यस्तै सिनेमा हल, डान्स बार, दोहोरीलगायत मानिस भीडभाड हुने सबै कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ । सबै प्रकारका आमसभा, जुलुसमा पनि प्रशासनले रोक लगाएको छ ।
प्रदेश नं १ मा ३९७ जना सङ्क्रमित थपिए प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३९४ जनाको पिसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पिसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा पाँच–पाँच, उदयपुर, सङ्खुवासभा र पाँचथरमा एक–एक र प्रदेश बाहिरका सात जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ६५, बुढीगङ्गामा पाँच, सुन्दरहरैचामा तीन, ग्रामथानमा दुई, पथरीशनिश्चरे, रङ्गेली, उर्लाबारी, रतुवामाई, बेलबारी, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका एक–एक, सुनसरीको धरानमा २५, इटहरीमा १२, इनरुवामा तीन, दुहवी र बराहक्षेत्रमा एक–एक, धनकुटाको धनकुटा नगरपालिकामा पाँच, झापाको कमल गाउँपालिकामा एक र स्थानीय तह नखुलेका चार, सङ्खुवासभा, पाँचथर र उदयपुरको बेलकामा एक र प्रदेश बाहिरका सात जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आज ४०२ महिलासहित ९०२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ६५७ रहेको जनाएको छ ।