जनशक्तिका अभावले आइसीयु र भेन्टिलेटर थन्किए

सोमबार, माघ १७, २०७८

म्याग्दी, १७ माघ । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसीयु) प्रयोगमा आउन सकेको छैन् । करोडौँ खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् । 
गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्वसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालमा रु एक करोड २५ लाख खर्चेर दुई वटा भेन्टिलेटरसहित पाँच श्यया क्षमताको आइसीयु कक्ष स्थापना गरेको थियो । 
ती उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पु¥याउनुपर्ने र हेलिकप्टर चार्टर गरेर तत्कालै जिल्ला बाहिर जान नसक्ने गरिब विपन्नले ज्यान गुमाउनुपर्ने दुःखद् अवस्था रहेको स्थानीयवासी खम थापाले बताए । “तत्कालै आइसीयुमा राख्नुपर्ने बिरामीलाई अस्पताल पु¥याउन हेलिकप्टर चार्डर गर्नुपर्ने अवस्था छ”, उनले भने, “हेलिकप्टर चार्डर गर्न नसक्ने कतिपय बिरामीले एम्बुलेन्स र ट्याक्सीमा पोखरा जाँदाजाँदै बाटोमै ज्यान गुमाउनुपरेको छ ।”
दरबन्दी र जनशक्ति नहुँदा उपकरण भए पनि आइसीयु चलाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । आइसीयु कक्ष सञ्चालन गर्न कम्तीमा चार जना मेडिकल अधिकृत, दश जना स्टाफ नर्स, दुई जना परामर्शदाता र चार जना सहयोगी पदका जनशक्ति आवश्यक पर्ने अस्पतालका प्रमुख डाक्टर जीतेन्द्र कँडेलले जानकारी दिए । “५० शय्या क्षमताका अस्पतालमा हाल रहेका सात  चिकित्सक र करारकासहित २४ स्टाफ नर्सलाई नियमित सेवा दिन हम्मे परेको छ,” उनले भने, “आइसीयु चलाउने हो भने मेडिकल, इमर्जेन्सी, ओपिडी कक्ष बन्द गर्नुपर्ने अवस्था छ । आधारभूत सेवालाई प्राथमिकता दिनुप¥यो । आइसीयु चलाउने जनशक्तिको दरबन्दीनै छैन । चलाउन नपाएरै उपकरण बिग्रने होकी भन्ने चिन्ता छ ।”
गण्डकी प्रदेश सरकार मातहत रहेका ११ वटै जिल्लाका अस्पतालमा भेन्टिलेटरसहितको आइसीयु कक्ष बनाएर डेढ वर्षअघिनै उपकरण जडान भएका थिए । अतिरिक्त जनशक्ति नभएपछि मौजुदा जनशक्तिबाटै बालबालिका उपचार कक्षको आइसीयु कक्षलाई प्रयोगमा ल्याउने तयारी गरिएको  अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । 
अस्पतालको सबै शय्यामा पलान्टबाट पाइपमार्फत अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ । विद्यमान चिकित्सक र स्वास्थ्यकर्मीबाट सेवा दिन सकिने भएकाले बालबालिका उपचार कक्षको  आइसीयुलाई प्रयोगमा ल्याउने तयारी गरिएको हो ।–रासस
 

 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार