कर पनि नतिर्ने, मापदण्ड विपरीत संरचना निर्माण पनि गर्ने 

सोमबार, माघ १७, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ, १७ माघ । सरकारले तोकेको मापदण्ड विपरीत इच्छुमती (टुकुचा) खोला दायाँबायाँ जग्गा नछोडी संरचना निर्माण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घरजग्गा एवं घरबहाल करसमेत नतिरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । 
काठमाडौँ महानगरपालिका–११ भद्रकालीप्लाजास्थित कम्पनीका नाममा रहेको कित्ता नं २३९५ को सात रोपनी जग्गा भाडामा दिँदा मन्त्रिपरिषद्को मापदण्ड मिचेको जग्गाको घरजग्गा एवं बहाल करसमेत नतिरेको वडा अध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए ।
कम्पनीले विसं २०७४ मा कम्पनीको जग्गा भाडामा लगाउन सार्वजनिक सूचना प्रकाशन गरेको थियो । बीसभन्दा बढी कम्पनीले बोलपत्र हालेकामा सबैभन्दा बढी भाडा कबोल गर्ने फनल्याण्ड इन्टरटेनमेन्ट प्रालिलाई मासिक रु १० लाख ५१ हजारमा दिने सम्झौता २०७४ साल असार ७ गते गरिएको कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले बताए । 
कम्पनीले घर बहालमा लगाए पनि कर भने तिरेको छैन । भद्रकालीप्लाजा क्षेत्रमा रहेका नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, राष्ट्रिय बीमा संस्थानले भने वडा कार्यालयले गरेको पत्राचारअनुसार नै कर तिरिरहेका छन् । यस क्षेत्रमा रहेका अन्य कार्यालयलाई पनि कर तिर्न पत्राचार गरिएकामा नतिरेको वडा कार्यालयले जनाएको छ । 
“कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत पदाधिकारी र बोर्ड सदस्य महानगरीय प्रहरी परिसरलाई जग्गा बेच्नुअघि वडा कार्यालयमा सिफारिसका लागि आएका थिए, मैले कर तिर्न भनेँ, उनीहरूले नतिरीकन माथि माथिबाट मिलाएर जग्गा बेचेछन्, महानगरीय प्रहरी परिसरले घरबाटो सिफारिस गर्दा छ लाख कर वडा कार्यालयले लिएको छ”, वडाध्यक्ष तण्डुकारले भने ।
कानुनअनुसार नै बुझाउनुपर्ने कर सरकारले कार्यालयले नै नबुझाएपछि आफूले पटक–पटक कानुन परिवर्तन गरेर आउन भन्ने गरेको उनी बताउँछन् । उच्च सरकारी अधिकारीले त्यसमासमेत ध्यान नदिएको वडा कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्ले २०६५ साल मङ्सिर १ गते काठमाडौँ उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा संशोधन गरेको थियो । संशोधन अनुसार खोला किनारमा निर्माण गर्दा वाग्मती, विष्णुमती र मनोहरा खोलाको दायाँबायाँ २०÷२० मिटर, रुद्रमती (धोबीखोला) का हकमा धोबीखोला आयोजनाले तोकेको दूरी र आयोजना नभएको स्थानमा नौ मिटरको मापदण्ड तोकिएको थियो । 
यसैगरी नख्खु खोलाको दायाँबायाँ १२÷१२ मिटर, बल्खु, कर्मनासा, कोड्कु, साङ्ले र महादेव खोलामा १० मिटर, करखुसी खोलामा छ मिटर मापदण्ड मन्त्रिपरिषद्ले तोकेको थियो । टुकुचा, सामाखुसी र काठमाडौँ उपत्यकामा बग्ने अन्य खोलामा चार मिटर छोडेरमात्र निर्माण गर्न पाइने मापदण्ड खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पालना नगरेको भेटिएको छ । संरचना निर्माण गर्दा राजकुलो छोप्न नपाइने मापदण्ड पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो ।
यसको पालना नगरी कम्पनीले भाडामा दिएको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । कम्पनीले मनोरञ्जनात्मक कामका लागि सात रोपनी जग्गा भाडामा दिँदा कानुन बमोजिम गर्ने भनी दोस्रो पक्षसँग सम्झौता गरेको सूचना अधिकारी न्यौपानेले बताए । कम्पनीले कानुन बमोजिम गर्ने भनी सम्झौता गरेको दाबी गरिए पनि फनल्याण्ड इन्टरटेनमेन्ट प्रालिले भने नदीको दायाँबायाँ छोड्नुपर्ने मन्त्रिपरिषद्को मापदण्ड अनुरुपको चार मिटरको नियम पालना गरेको छैन । यस विषयमा केही दिनअघि कम्पनीका उच्च अधिकारीले अनुगमन गरेको जनाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  २२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार