तनहुँसुरको चर्चित चौतारा संरक्षण गरिने

मंगलबार, माघ १८, २०७८

दमौली, १८ माघ ।  तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा चर्चित बनेको चौतारा संरक्षण गरिने भएको छ । बीचमा रुखसहित दायाँबायाँ कालोपत्र भएको सडक चर्चित भएसँगै नवआदर्श टोल विकास संस्थाले उक्त चौताराको संरक्षण गर्न लागेको हो ।  रुखलाई बीचमा राखेर सडक कालोपत्र गरिएपछि उक्त ठाउँमा घुम्न जाने पर्यटकको सङ्ख्या बढेको छ । त्यसैलाई मध्यनजर गर्दै आज बसेको टोल विकास संस्थाको बैठकले दुई चौताराको संरक्षण गर्ने निर्णय गरेको अध्यक्ष सञ्जय श्रेष्ठले जानकारी दिए। 
दुवै चौतारा मर्मत सम्भार र निर्माणका लागि स्थानीय सरकार, सङ्घसंस्था र स्थानीयवासीलाई सहयोगको अनुरोध गरिने भएको छ । “रुखलाई संरक्षण गरी सडक कालोपत्र भएपछि यस ठाउँमा एकाएक पर्यटकको चहलपहल ह्वात्तै बढ्यो, अब रुखलाई संरक्षण गर्दै चौतारी निर्माण गर्छौ,” उनले भने । तनहुँसुरमा वनभोजका लागि पर्यटकको आगमन बढ्न थालेको र खानेपानीको समस्या देखिएकाले तीन दिनभित्र खानेपानीको व्यवस्था मिलाउन लागिएको छ । देउराली डाँडाको मुख्यभागमा रहेको ठाउँमा पाँच मिटरको नेपालको झण्डा एक हप्ताभित्र राखिने श्रेष्ठले बताए । यसैगरी दुवै चौताराको बीचमा पर्ने क्षेत्रको तल्लो भागमा सार्वजनिक शौचालय एक महिनाभित्र निर्माण गर्ने तयारी गरिएको छ । देउराली डाँडामा उद्यान निर्माणका लागि श्रेष्ठकै अध्यक्षतामा पाँच सदस्यीय गुरुयोजना समिति निर्माण गरिएको छ । सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको सङ्ख्या बढेको छ । अन्य दिनको तुलनामा शनिबार सर्वसाधारणको बाक्लो भीडभाड हुने गरेको छ । तनहुँसुरसम्म पुग्ने खड्गकाली मोटरमार्ग सङ्घीय सरकार र व्यास नगरपालिकाको साझेदारीमा कालोपत्र गरिएको छ । उक्त मोटरमार्गको ५।६ किलोमिटर खण्डमा कालोपत्र, पक्की नाला, ग्याबिन जाली र पर्खाल निर्माण कार्य पूरा भएको हो ।  अब ऐतिहासिक तनहँुसुर दरबारसम्म पुग्न करिब साढे दुई किलोमिटर सडक कालोपत्र हुन बाँकी रहेको छ । हाल व्यास नगरपालिका–११ को रातमाटाबाट ढाँडखोलेसम्म कालोपत्र भएको छ । कूल रु दश करोडको इष्टमेट भए पनि बोलपत्र प्रक्रियामार्फत् ऋषि शक्ति जेभीले रु सात करोड ५१ लाखमा कालोपत्र र पक्की नाला निर्माण गरेको हो । उक्त योजना कार्यान्वयनका लागि सङ्घीय सरकारले ५० प्रतिशत र व्यास नगरपालिकाले ५० प्रतिशत बजेट उपलब्ध गराएको थियो । कालोपत्र सडकमार्फत् अब तनहुँसुर दरबार दमौलीबाट आधा घण्टामा पुग्न सकिन्छ ।–रासस
 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार