सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १९ माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलि बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहनेछ । शुक्रबार देशैभरि सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । आगामी शनिबार पनि पश्चिमी वायुको प्रभाव रहने र आइतबारदेखि मौसम क्रमिक रुपमा सुधार आउनेछ ।
बिहीबार महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
शनिबार
शनिबार पनि गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । साथै उक्त प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि यो मौसम कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने महाशाखाले जनाएको छ ।
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ । प्रदेश नं १, बागमती, गण्डकी, मधेस प्रदेश र तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत विभागले अनुरोध गरेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ । बिहीबार प्रदेश नं १, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम चार दशमलव चार डिग्री तथा अधिकतम तापक्रम १७ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस पाँच दशमलव शून्य तथा सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको थियो ।