केटु हिमाल आरोहणकर्तालाई सेनाको सम्मान 

प्रधानसेनापति थापा भन्छन,‘सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव छ’
बिहीबार, फागुन १३, २०७७
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव हुने बताएका छन् । हिउँद याममा विश्वकै दोस्रो अग्लो हिमाल केटु (८, ६११ मिटर) को पहिलो पटक सफल आरोहण गरेर फर्केका नेपाली टोलीलाई आज नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित सम्मान कार्यक्रममा प्रधानसेतापति थापाले केटु हिमाल आरोहणले नेपाल र नेपालीको गौरव बढाएको बताए । ‘यो अतुलनीय योगदानको जति प्रशंसा गरे पनि कमै हुन्छ’, उनले भने, ‘हिमपहिरो, हिमआँधी र कठिन भूगोलको चुनौतीको सामना गर्दै सफल आरोहण गरेकामा नेपाली सेनाको हार्दिक बधाई छ ।’ प्रधानसेनापति थापाले केटु हिमाल आरोहणको अभूतपूर्व सफलताबाट नेपाली जनता गौरवान्वित भएको उल्लेख गर्दै उक्त कार्यबाट नेपाली सेना हर्षित भएको उल्लेख गरे । ‘आरोहण टोलीले अनुपम उदाहरण प्रस्तुत गरेको छ, सामूहिकरुपमा मिलेर गरे असम्भव केही पनि छैन भन्ने स्पष्ट भएको छ’, उनले भने । 
सो अवसरमा केटु हिमाल आरोहण गर्ने नेपाली टोलीलाई सहयोग गरेकामा उहाँले पाकिस्तान सरकार, जनता र नेपालस्थित पाकिस्तानी राजदूतावासलाई धन्यवाद दिए । दश आरोही सम्मिलित नेपाली आरोहण टोलीले गत माघ ३ गते केटु हिमालको सफल आरोहण गरेको हो । 

‘नेपाली आरोही भरिया मात्र होइनन्’


विश्वकै अग्लोमध्येको दोस्रो केटु हिमाल आरोहण दलका टोली नेता निर्मल पूर्जा पुनमगरले नेपाली आरोही भरिया मात्र नभएको बताएका छन् । सेनाको सम्मान ग्रहण गर्दै उनले हिमाल आरोहण गर्दाको अनुभव सुनाएका थिए । आफूले ३० वर्षको उमेरमा हिमाल आरोहण आरम्भ गरेको उल्लेख गर्दै पुनमगरले सामूहिक भावनाका कारण कठिन आरोहण सम्भव भएको स्मरण गरे । आफूहरु तीन वटा समूहमा गए पनि अन्तिममा सामूहिकरुपमा योजना बनाएर केटु हिमाल आरोहण गरेको उनको भनाइ छ । ब्रिटिश गोर्खा सेनामा १६ वर्ष जागीर गरी छाडेर हिमाल आरोहणको यात्रा थालेको पुनमगरले सुनाए । नेपालीले सधैँभरि हिमाल आरोहीको भरिया बन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालीले चाहे गर्न नसक्ने कुनै पनि काम नभएको आफूहरुले प्रमाणित गरेर देखाएको बताए । ‘विदेशी आरोहीले नेपाली भरिया मात्र हुन भनेर होच्याउने गरेका छन्, त्यो हामीलाई सह्य छैन’, पुनमगरले भने । उनले विश्वकै अग्ला १४ हिमालको सफल आरोहण गरेर कीर्तिमानसमेत बनाएका छन् । ‘मैले हिमाल चढ्न घर बिक्री गरे, कतिपयले यो त बहुला रहेछ भने’, उनले विगत सम्झिँदै भने, ‘म आफ्नो लक्ष्यमा निरन्तर लागिरहे, आज सफलता मिलेको छ ।’  माइनस ६५ डिग्री सेन्टिग्रेटको तापक्रममा ३५ किलोग्राम भारी बोक्दै केटु हिमाल आरोहण गरेको उनले सुनाए । ‘लक्ष्य हिमाल आरोहण गरेरै छाड्ने थियो, इतिहास बनाउनबाट वञ्चित हुने मन थिएन, विश्वभर नेपालीको नाम उँचो राख्न सफल भयौँ’, उनले भने ।  सो अवसरमा प्रधानसेनापति थापाले केटु हिमाल आरोहण दलका नेता पुनमगर, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पालाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।  नेपाली सेनाले आगामी चैत ३१ देखि जेठ २२ गतेसम्म विश्वको अग्लो हिमाल सगरमाथालगायत छ हिमालको झण्डै ३५ टन फोहर सङ्कलन गरिने सो अवसरमा जानकारी दिइयो ।–रासस

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  ०५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार