कोरोनाबाट बुधबार १२ जनाको ज्यान गयो, ३,६३७ संक्रमित थपिए

बुधबार, माघ १९, २०७८

काठमाडौं, १९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  ११ हजार ५८२ नमुना परीक्षण गर्दा  तीन हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् । 

उनका अनुसार ६ हजार ४९९ पीसीआर परीक्षण गर्दा दुई हजार २०५ जनामा र पाँच हजार ८३ एन्टिजेन परीक्षण गर्दा एक हजार ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ जना रहेको छ । पछिल्लो २४ घण्टामा सात हजार ५५५ जनामा कोरोना संक्रमणमुक्त हुँदा १२ जना संक्रमितको मृत्यु भएको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा आठ लाख १५ हजार ७९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका प्रवक्ता डा मिश्रले जानकारी दिइन् । 

करिब पाँच लाख जनाले लगाए बुस्टर डोज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर करिब पाँच लाख जनाले कोरोनाभाइरसविरुद्ध खोपको बुस्टर डोज लगाएको जानकारी दिएको छ । कोरोनाविरुद्धको पूर्ण खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्ति, ज्येष्ठ नागरिकसहितलाई सरकारले बुस्टर डोज लगाइदिइरहेको छ । हालसम्म चार लाख ८४ हजार ४७९ जनाले बुस्टर डोज लगाएको मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् । उनका अनुसार हालसम्म एक करोड ७१ लाख ४४ हजार ८६७ जनाले पहिलो डोज र एक करोड ४८ लाख २८ हजार ९५३ जनाले दुवै डोज अर्थात पूर्ण मात्राको खोप लगाइसकेका छन् ।  नेपालमा चार करोड ५७ लाख आठ हजार ६४० डोज खोप ल्याइएको उनले बताइन् । कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा १२ जनाको मृत्‍य भएको हो । 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार