४८ क्युफिट काठसहित एक पक्राउ

बुधबार, माघ १९, २०७८

दमौली, १९ माघ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटारबाट अवैध सालको काठसहित आज एक जना पक्राउ परेका छन् । पक्राउपर्नेमा भरतपुर महानगरपालिका–७ मङ्गलपुर बस्ने ५१ वर्षीय कमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  देवघाट गाउँपालिका–५ घिनाटारस्थित कच्ची सडकमा देवपुरबाट दासढुङ्गा जाँदै गरेको ना२च ७३७५ नम्बरको जीपमा अवैध साल जातको काठ ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले अवैध सालको काठ र जीपसहित चालकलाई पक्राउ परेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 
प्रहरीले ७४ थान अर्थात् ४८.९५ क्युफिट बराबरको चिरान काठ बरामद गरेको छ । काठ र जीपसहित चालकलाई आवश्यक कागजातसहित थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको प्रहरीले जनाएको छ । 

लागुऔषधसहित पक्राउ 
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट लागुऔषधसहित एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरानबाट काठमाडौँ आउँदै गरेको ना७ख ३२५५ नम्बरको बस जाँच गर्ने क्रममा लागुऔषधसहित सप्तरीका ४६ वर्षीय शिवचरण दासलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनले बोकेको झोलाबाट एक हजार २० एम्पुल लागुऔषध (डाइजेपाम, नोफिन र फेनारगन) फेला पारिएको थियो । हाल उनीमाथि औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरीवृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जनाइएको छ । 

नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ 
यसैबीच प्रहरीले काठमाडौँको भद्रकालीबाट आज नक्कली प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ । यहाँस्थित सडकमा सवारी जाँच गर्ने क्रममा भक्तपुर सूर्यविनायक–८ डोलेश्वरका २६ वर्षीय सोनाम तामाङका साथबाट प्रहरी सहायक निरीक्षकको पोशाक तथा दज्र्यानी चिन्हसमेत लगाएको आठ वटा पासपोर्ट साइजको फोटा फेला परेको छ । उनीमाथि प्रहरीवृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  २२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार