सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २१ माघ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली: राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाउनाका साथै आफ्नो महत्वलाई स्थापित गर्न सकेकामा धन्यवादसमेत दिइन् ।
उनले लोकतन्त्रलाई बलियो बनाउन अर्थतन्त्र बलियो हुनुपर्नेमा जोड दिँदै देशको अर्थतन्त्रलाई बलियो बनाउन सम्बन्धित निकायहरुदेखि प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइन । राष्ट्रपतिले भनिन्, “देशको सर्वोपरि हितलाई ध्यानमा राखेर संसद्ले काम गर्नुपर्दछ । यसमा सांसदको भूमिका महत्वपूर्ण हुनेछ ।” संविधानले निर्दिष्ट गरेबमोजिम नै आफूले संविधानको अक्षरशः पालना गर्दै आएको उल्लेख गर्दै राष्ट्रपतिले संवैधानिक अङ्गहरुले बुझाएका प्रतिवेदनहरुमाथि संसद्मा विस्तृत छलफल गर्ने र सम्बन्धित निकायहरुले पनि तिनको कार्यान्वयन गर्ने परिपाटीलाई बलियो बनाउन आवश्यक रहेको बताइन् ।