सोसल मिडिया
Contact Us
युनिकोड
मुस्ताङ, २१ माघ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोमा आधा फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा १ फिटसम्म बाक्लो हिउँ जमेको छ । मुस्ताङका सबै गाउँपालिकामा विद्युत् अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय जोमसोमले जनाएको छ । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित भएको छ । उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए । वर्षा र हिमपातले किसानमा भने खुशीयाली छाएको छ । यो वर्ष मुस्ताङमा चौथो पटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका–२ का वडाध्यक्ष नरप्रसाद हीराचनले बताए। हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने तथा उत्पादन बढ्ने किसान बताउँछन् । स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यक पर्ने भएकाले पनि हिमपात स्याउ जोनका लागि सकारात्मक भएको नाप्रस एमुना लामाले बताइन् । स्याउ, जौँ, गहुँ, उवा, फाँपर बाली सप्रने किसानको विश्वास छ ।
लमजुङमा हिमपात हुँदा जनजीवन प्रभावित जिल्लामा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च तथा ग्रामीण भेगमा परेको हिमपातका कारण जिल्लाभर चिसोले जनजीवन प्रभावित भएको छ । बिहीबार साँझदेखि वर्षा भएकोमा आज बिहानदेखि उच्च भेगमा हिमपात र जिल्लाका अधिकांश भागमा वर्षा हुँदा यहाँका जनजीवन प्रभावित हुन पुगेको हो । लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ, मस्र्याङ्दी गाउँपालिका–१, घनपोखरा ३, हर्सिङडाँडा र सिउरुङ, बेँसीशहर नगरपालिका–१० को पिस हिल, खाँचे, दोर्दी गाउँपालिका–६ दाम्राङ,लगायत ग्रामीण बस्तीमा बाक्लो हिमपात भएको स्थानीयवासीले बताएका छन् । घलेगाउँका स्थानीय गङ्गाबहादुर घलेले भने, “साँझदेखि हल्काहल्का परेको थियो । बिहानदेखि बाक्लो हिमपात हुँदा गाउँका १२५ घरधुरी नै हिमपातले ढाकेको छ ।” अझै हिमपात र चिसो बढिरहेकाले यहाँका स्थानीयवासी काममा निस्कन नसकेको उहाँको भनाइ छ । यसअघि यही माघ १२ गते मङ्लबार हिउँ परेको थियो । हिमपात भइरहेकाले गाईबस्तुलाई खुवाउनका लागि घाँस काट्नसमेत जान नसकेको बताइएको छ । पिस हिल स्टेशनका सञ्चालक जीत तामाङले तल्लो बस्ती भुस्मेसम्मै हिउँ पर्दा यहाँका जनजीवन प्रभावित भएको बताए । दोर्दी गाउँपालिकाका पर्यटन व्यवसायी युवराज अधिकारीले दाम्राङ डाँडामा पनि हिमपात भएकाले डाँडा क्षेत्र रमणीय देखिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले भन्नुभयो, “हिमपात नभएको स्थानमा वर्षा भइरहेको जानकारी प्राप्त भएको छ ।” यतिबेला हिउँ नपरेको स्थानमा समेत चिसो भइरहेकाले अधिकांश स्थानीय घरभित्रै बस्न बाध्य भएको उनको भनाइ छ । हिमपात र वर्षा भइरहे पनि हालसम्म कुनै घटना तथा कुनै पनि सडक भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ । घलेगाउँ, सिउरुङलगायत गाउँ घरबास ९होमस्टे० हो । यहाँ हिउँ पर्दा विगतमा पर्यटक आउने गरे पनि यसवर्ष कोरोना सङ्क्रमणका कारण सुनसान रहेको घरवास सञ्चालकको भनाइ छ ।