रुकुम (पूर्व) को कृषि सडकको विवाद मिल्यो

शुक्रबार, माघ २१, २०७८

रुकुम, २१ माघ ।  रुकुम (पूर्व) को पुथाउत्तरगङ्गा गाउँपालिकामा कृषि सडक खन्ने क्रममा भएको विवाद लामो समयपछि मिलेको छ । लुम्बिनी प्रदेश सरकारबाट बजेट आए पनि दुई गाउँको बिचमा विवाद हुँदा सडकको काम अघि बढ्न सकेको थिएन् । गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले दुई सडकमा देखिएको विवाद मिलाएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकामा गर–गरघाट–रन्मा कृषि सडक र गरगाउँ–सतीपोले –मैकोट कृषि सडकको काम विवाद मिलेसँगै अघि बढ्ने भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । दुवै सडकका लागि प्रदेश सरकारले रु १५/१५ लाख बजेट विनियोजन गरेको थियो । प्रजिअ बाँस्कोटाकाअनुसार रन्मा र मैकोट सडकका बिषयमा विवाद भएको थियो । 

    सहीदमार्गको पनि डिपिआर भइसकेको छ । गरवासीले गर हँदैँ मैकोटसम्म सहिदमार्गको डिपिआर भइसकेकाले फेरि अर्को सडकको आवश्यकता नभएको भन्दै अवरोध गर्दै आएका थिए । रन्मावासीले पनि जसरी भए पनि गर हुँदैँ कृषि सडकलाई रन्मा पु¥याउने अडान राख्दै आएका थिए । गएको कात्तिक/मङ्सिरमै डिपीआरको काम सुरु हुनुपर्ने सडकको काम यही विवादको कारण अहिलेसम्म अघि बढ्न नसकेको प्रजिअ बाँस्कोटाले बताए ।

     विवाद समाधान गर्न तकसेरामा गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती, जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओली, प्रमुख जिल्ला अधिकारी बाँस्कोटा, प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठ, सम्बन्धित वडाका वडाध्यक्ष तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा सर्वपक्षीय बैठक सम्पन्न भएको हो । विवाद मिलेसँगै अब सहिदमार्गसँगै दुईवटै कृषि सडक गरबाटै खनिने भएको छ । मैकोट जाने सडक गरबाट खन्न सुरु गरिने छ, भने रन्मा जाने सडक रन्माबाट खन्न सुरु गरेर गरमा जोड्न ल्याउने सहमति भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार