व्यवस्थित भयो थानकोट डिपो 

बिहीबार, फागुन १३, २०७७
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल आयल निगमको थानकोट डिपोमा ट्यांकर व्यवस्थापन, पार्किङलगायत पूर्वाधारका क्षेत्रमा तीव्ररुपमा सुधार भइरहेको छ । विगतमा मुख्य सडकबाट डिपोमा छिर्ने सडकभरी ट्यांकरको अव्यवस्थित पार्किङ र डिपोमा जाने बाटो धुलाम्मे हुने हुँदा स्थानीयवासीसमेत डिपोका कारण प्रभावित बनेका थिए । अहिले स्थिति फेरिएको छ । एक वर्ष अघि सो डिपोको प्रमुख भएका प्रदीपकुमार यादवका अनुसार यहाँ अहिले वरिपरी पक्की पर्खाल बनाइएर सुरक्षा चुनौतीको खतरा हुने स्थितिको अन्त्य गराइएको छ । दैनिक करिब ६ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेलको सप्लाइ हुने यस डिपोलाई सामान्य तारबारले घेरिँदा असुरक्षा हुँदै आएकामा अहिले व्यवस्थित तुल्याइएको छ । नेपाल–भारत पेट्रोलियम पाइप विस्तारका समयमा अमलेखगञ्ज डिपोका प्रमुख भई परियोजना सफल बनाउन भूमिका निर्वाह गरेका यादव थानकोटको जिम्मेवारीमा आएपछि सुधारका कामले गति लिएकोे थियो । हाल निगमको स्वामित्वमा डिपोमा रहेको ३९ रोपनी जग्गालाई प्रयोग गरेर तीन सय ट्यांकर अट्नसक्ने पार्किङ बनाइएको छ । पार्किङसँगै व्यवस्थित शौचालय र बाथरुमको व्यवस्था गरिएको छ, यसले गर्दा अव्यवस्थित पार्किङको समस्या समाधान भएको छ । तेलको आपूर्तिमा भइरहको ढिलाइ अन्त्य गर्न ट्यांकरमा तेल भर्ने प्वाइन्टको संख्यालाई बढाएर दोब्बर बनाइएको डिपो प्रमुख यादवले बताए । विसं. २०५५ सालमा निर्माण भएको सो डिपो २०५७ सालदेखि सञ्चालनमा आएको हो । डिपोमा अहिले १५ हजार किलोलिटर तेल भण्डारण गर्ने क्षमता छ । नौ वटा भर्टिकल ट्यांकी र पाँच वटा अन्डरग्राउन्ड ट्यांकीमा सो परिमाणमा भण्डारण क्षमता भएको हो । तीमध्ये यो डिपोबाट अहिले दैनिक ३ हजार किलोलिटर तेलको खपत हुन्छ ।–रासस
 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार