सोसल मिडिया
Contact Us
युनिकोड
डोटी, २२ माघ । बिहीबारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएका डोटी जिल्लाका भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग पुनःसञ्चालन भएको छ । बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्ग र सिलगढी साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग अवरुद्ध भएका थिए । हिउँ पन्छाएपछि अवरुद्ध राजमार्ग आज साँझादेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । स्थानीय तहका डोजर, नेपाली सेना तथा प्रहरीले हिउँ पन्छाएपछि राजमार्ग सुचारु भएका हुन् । राजमार्ग सञ्चालन भएपछि दुई दिनदेखि अलपत्र परेका यात्रु र सवारीसाधन आआफ्नो गन्तव्यतर्फ लागेको ट्राफिक प्रहरी पोष्ट बुडरले जनाएको छ । भीमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वर तथा पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेलगायत ठाउँमा बाक्लो हिमपात भएको थियो ।
सिमकोटमा चार फिटसम्म हिउँ
बिहीबारदेखि लगातार परेको हिमपातले सदरमुकाम सिमकोट सेताम्या भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बेलुकादेखि परेको हिउँ चार फिट जमेको छ । यहाँको तापक्रम माइनसमा झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायत क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका बासिन्दा प्रशान्त लामाले जानकारी दिए ।
उनका अनुसार हिमपातले मुचका खोलामा पानी जमेर बहाव कम भएको छ । सबैतिरको पानी जमेर पूरै ठोस भएको छ । उनले भने, “जाडोले घरभन्दा बाहिर निस्कन सकिएको छैन, चिसोले खानेपानीका धारा जमेका छन् ।’’ अत्याधिक चिसो र हिमपात भइरहेका कारण बिहानैदेखि चहलपहल हुने गाउँहरुसमेत यहाँ सुनसान छन् । निरन्तर रुपमा हिउँसँगैको अत्यधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।
हिमपातले अवरुद्ध राजमार्ग नखुल्दा यात्रुलाई सास्ती
बिहिबारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएका भिमदत्त राजमार्ग तथा पहलमानसिंह स्वार राजमार्ग सञ्चालन हुन नसक्दा यात्रुलाई सास्ती हुँदै आएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएका कारण सञ्चालन गर्न नसकिँदा यहाँको यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ । उता डोटीको सिलगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेमा परेको हिउँ पन्छाइए पनि राजमार्गमा ठूलो ढुङ्गा खस्दा राजमार्ग सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । उनका अनुसार ढुङ्गा हटाउन डोजर मगाइएकाले ढुङ्गा हटाएपछि उक्त राजमार्ग सञ्चालनमा आउने छ । भिमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वरलगायतका ठाउँमा बाक्लो हिमपात भएकाले केही दिन सञ्चालन गराउन समस्या भएको प्रहरी चौकी गैराले जनाएको छ । उक्त राजमार्ग सञ्चालन नहुँदा अहिले सयौँको सङ्ख्यामा सवारी साधन तथा यात्रु अलपत्र परेका छन् । राजमार्ग सञ्चालनका लागि सडक विभागको डोजर, सेना, प्रहरी तथा स्थानीयवासीले प्रयास गरी रहे पनि हिउँ पन्छाउन नसकिएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलले जनाएको छ ।
मुडे–चरिकोट सडक सञ्चालनमा
दोलखाको खरिढुङ्गा क्षेत्रमा बाक्लो हिमपातका कारण शुक्रबारदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ । मुडे खरिढुङ्गा क्षेत्रमा व्यापक मात्रमा हिमपात भएपछि शुक्रबारदेखि सवारीसाधन आवतजावतमा अवरुद्ध भएकामा आज दिउँसोदेखि सवारीसाधन सञ्चालनमा आएका छन् । चरिकोट क्षेत्र तथा मुडे क्षेत्रको दुवै क्षेत्रबाट स्काभेटरले हिउँ पन्छाइएपछि सवारी साधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालयका प्रमुख भेषराज रिजालले बताए । दोलखाका उच्च क्षेत्रमा शुक्रबार बिहानदेखि नै बाक्लो हिमपात भएपछि राजधानी काठमाडौँबाट दोलखा जोड्ने खाडिचौर–चरिकोट सडकखण्डअन्तर्गत मुडे खरिढुङ्गा क्षेत्रमा करिब २४ घण्टा सवारी साधन अवरुद्ध ब नेका थिए ।