सोसल मिडिया
Contact Us
युनिकोड
बागमती, २५ माघ । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ । पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढन् नसकेकाले उद्योगको काम लथालिङ्ग भएको त्यहाँ कार्यरत प्राविधिक तथा कर्मचारीको भनाइ छ । साथै महाप्रबन्धकको समस्यासँगै हाल उद्योगको सिमेन्ट उत्पादन र बिक्रीसमेत ठप्प भएको बताइएको छ । उद्योगको ढुङ्गा धुलो पकाउने मेसिन (किल्न) बिग्रिएर सिमेन्ट उत्पादन बन्द भएको हो ।
उद्योगको उत्पादन बन्द भएको एक महिनाभन्दा बढी भइसकेको छ भने पुस २६ गतेदेखि सिमेन्ट नहुँदा बिक्रीसमेत बन्द भएको बताइएको छ । बिग्रिएको मेसिन (किल्न) चलाउनका लागि उदयपुर सिमेन्ट उद्योगसँग आवश्यक इँटा र मेसिन सापटी लिएर मर्मतको काम भइरहेको र केही दिनमा उत्पादन सुरु हुने उद्योग प्रशासनले जनाएको छ । सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै जीर्ण भइसकेकाले पटक–पटक बिग्रिने गरेको र क्षमताअनुसार उत्पादन गर्न सकेको छैन ।